काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाताको करिब ७० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको छ। निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सूचीकृत छन्।
प्रमुख आयुक्त थपलियाले यसपटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए। २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको दाबी छ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। मतदान सकिएपछि बेलुकी ८ बजेबाट मतगणना सुरु गर्नेगरी तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।
मतदान सकिएलगत्तै सबै मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर गणना सुरु हुने थपलियाले जानकारी दिए।
‘आइतबार नै मतदान केन्द्रबाट मतपेटिक संकलन गरेर बेलुका ८ बजेतिरबाट मतगणना सुरु हुन्छ,’ उनले भने, ‘त्यस्तै अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने आयोगको तयारी छ।’
उनले मतपत्र सजिलो भएकाले छिटै मतदान सम्पन्न हुने बताए। मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने उनको भनाइ छ।
प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरे। थपलियाले मतदान केन्द्रहरू अपांगमैत्री बनाइनुका साथै वृद्धहरुका लागि पनि सहज बनाइएको बताए।
आइतबारको निर्वाचनले प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत १६५ र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ११० गरी २७५ जना सांसदको छिनोफानो गर्नेछ। यस्तै, ७ वटा प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० र समानुपातिक २२० गरी ५५० सदस्यको छिनोफानो गर्नेछ।
देशभरका १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए। यस्तै, १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको छ।
प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ।
प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।