चितवन– चितवनको भरतपुर महानगरपालिका क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ।
महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरपालिकाले दिगो शहरी विकास नीति अनुसार विभिन्न २० स्थानमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो।
महानगरले राजमार्ग क्षेत्रमा तीन पांग्रे सावारी निषेध गरेको २ साता भित्रै ट्राफिक व्यवस्थापनमा सहज हुनेगरी अर्को कार्य गरेको हो।
महानगरको बोर्ड बैठकको निर्णयबाट भरतपुरमा ट्राफिक पोष्ट राखिएको मेयर सचिवालयले जनाएको छ। सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत महानगरको पहलमा श्रद्धा हाउजिङ प्रालिले १० वर्षका लागि जिम्मा लिई ट्राफिक पोष्ट राखेको हो।
श्रद्धासँग क्रमिक रुपमा महानगरको सबै क्षेत्रमा ट्राफिक पोष्ट राख्ने सम्झौता समेत भएको महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले जानकारी दिए। श्रद्धाले २० वटाबापत हरेक वर्ष २ लाख रुपैयाँ राजश्व समेत महानगरलाई बुझाउने उनले बताए। उनले भने– ‘आइल्यान्ड निर्माणले सहज रुपमा ट्रफिक व्यवस्थापन तथा सडकमा भिड कम भएको बेलामा ट्राफिकलाई आराम गर्ने वातावरण मिल्नेछ।’
केन्द्रिय बसपार्क चोक, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, पुल्चोक, लिला चोक, पोखरा बसपार्क चोक, आँपटारी चोक लगायतका २० ठाउँमा पोष्ट राखिएको मेयरको सचिवालय टिमका गोपालकृष्ण न्यौपानेले जानकारी दिए।
पोष्टहरुमा सोलारको समेत व्यवस्था गरी मोबाइल फोनलाई चार्ज गर्ने व्यवस्था समेत मिलाइएको छ भने वर्षाको समयमा लगाउने ‘रेनकोट’ र पिउने पानी राख्ने स्थानसमेतको व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।