उर्लाबारी– मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले सेलरोटी बेच्ने अभियान चलाएको छ।
सो अभियानअन्तर्गत लायन्स क्लब अफ लेटाङकी अध्यक्ष शान्ति लामा पाख्रिनको नेतृत्वमा लायन्स क्लब अफ पथरी, पथरी उद्योग वाणिज्य संघसमेतको सहकार्यमा घरमा बनाइएको सेलरोटी वितरण गर्दै बिहीबार पथरी बजारमा सहयोग रकम संकलन गरिएको हो। सेलरोटी र एक बोतल पानी दिँदै इच्छाअनुसारको सहयोग माग्ने क्रममा पथरी बजारबाट ७१ हजार ८ सय ८५ रुपैयाँ संकलन भएको थियो।
उक्त अभियानमा नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिले आयोजक टोलीलाई कार्यालयमै बोलाएर सहयोग रकम प्रदान गरेका थिए।
‘लेटाङ प्रिन्सेस–२०१८’ की विजेता सुजाता खतिवडा, फष्ट रनरअप जानुका मगरसमेत सो अभियानमा सहभागी भई गत सोमबार बेलबारी बजारमा ६१ हजार २ सय ११ रुपैयाँ रकम संकलन भएको थियो।
विपन्न परिवारकी बालिकाको भरतपुरस्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा किमोथेरापी सुरु गरिएको छ। विदेशबाट पनि सहयोग प्राप्त हुँदै गरेको अभियानकी संयोजक शान्ति लामा पाख्रिनले बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।