काठमाडौं– संघीय संसद्का १६ समितिले आज पूर्णता पाउँदै छन्। लामो समयदेखि दलहरुबीच विवाद हुदाँ संसद्का समितिमा बस्ने सदस्यहरुको नाम घोषणा हुन सकेको थिएन। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समितिमा रहने सदस्यहरुको नाम नदिदाँ ढिलाइ भइरहेको सत्ता पक्षको तर्क थियो भने प्रतिपक्षले सभापतिको विषयमा पहिला निर्णय हुनुपर्ने बताउँदै आएको थियो। बुधबार सरकार र प्रतिपक्षमा नेतृत्वको विषयमा सहमति जुटेकाले समितिहरुले पूर्णता पाउन लागेको हो।
प्रतिनिधिसभामा १० वटा विषयगत समिति हुनेछन् भने राष्ट्रियसभामा ३ वट समिति रहनेछन्। राष्ट्रियसभामा रहने ३ वटा समितिका सदस्यको नाम घोषणा भइसकेको छ। आज बस्ने प्रतिनिधिसभा बैठकले पनि १० वटा विषयगत समितिमा रहने सदस्यको नाम घोषणा गर्ने तयारी रहेको छ। नेपाली कांग्रेस र राजपाले समितिमा रहने सदस्यको नाम दिइसकेकाले पूर्णता दिन लागिएको हो।
मिनि संसद्का रुपमा रहेने समितिहरु गठन नहुदाँ सम्बन्धित क्षेत्रबाट हुने कामबारे संसद्ले अनुगमन र अध्ययन गर्न सकेको छैन। विधेयकहरुको छलफलका लागि पनि समितिहरु नहुदाँ समस्या परिरहेको बताउँदै सभामुख कृष्णबहादुर महारारले दलहरुलाई समिति निर्माणमा दबाब दिँदै आएका थिए।
प्रतिनिधिसभा र राष्ट्रियसभापछि दुवै सदनमा रहने महाअभियोग विशेष समितिका सदस्यहरुको नाम तोक्न बाँकी रहनेछ।
यस्ता छन् प्रतिनिधिसभाका १० विषयगत समिति
सार्वजनिक लेखा समिति
राज्य व्यवस्था समिति
अर्थ समिति
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति
कानुन न्याय तथा मानव अधिकार समिति
कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति
महिला तथा सामाजिक समिति
विकास तथा प्रविधि समिति
शिक्षा तथा स्वास्थ्य समिति
यी हुन् राष्ट्रियसभाका ३ विषयगत समिति
विधेयक समिति
दिगो विकास समिति
प्रत्यायोजित अधिकार समिति
यी हुन् २ साझा समिति
संसदीय सुनुवाइ विशेष समिति
अनुगमन तथा मूल्यांकन विशेष समिति
दुवै सदनमा रहने विशेष समिति
महाभियोग सिफारिस समिति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।