काठमाडौं– प्रधानन्यायधीशको संसदीय सुनुवाईको विषयमा आफुलाई पेस्तोल देखाएर धम्काएको बताएकी नेकपाकी सांसद निरुदेवी पालले प्रहरीमा भने जाहेरी दिएकी छैनन्। आफुलाई सुरक्षा थ्रेट रहेका भन्दै उनले बुधबारदेखि पिएसओ लिएकी छिन्।
मंगलबार साँझ बानेश्वरस्थित निवासबाट पसलमा निस्किएको बेला आफुलाई पेस्तोल देखाएर संसदीय सुनुवाई समितिको बैठकमा नजान भनिएको र मोबाइल समेत लुटिएकी बताएकी थिइन्। धम्काउनेहरु मोबाइल लुटेर भागेको उनको भनाई थियो। त्यसबारेमा उनले संसद सचिवालयमा लिखित जानकारी समेत दिएकी छिन्। तर, यस्तो गम्भीर विषयमा उनले प्रहरीमा भने जाहेरी दिएकी छैनन्।
सांसद पालबाट धम्काएको सम्बन्धी जाहेरी नआएको तर पनि आफुहरुले घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
घटनाको अनुसन्धानमा सांसद पालले नै चासो दिएकी छैनन्। जसकारण सो घटना व्यक्तिगत विवादसम्बन्धि हुनसक्ने प्रहरीको आंकलन छ। उनले जाहेरी नदिनु र अनुसन्धानमा चाँसो नराख्दा घटना शंकास्पद बन्न पुगेको छ।
सांसद पाल संसदीय सुनुवाई समितिकी सदस्य हुन्। समितिको बैठकमा नजान आफुलाई धम्काएको बताएपछि प्रहरीले उनीसहितका केही सांसदहरुलाई पिएसओ खटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।