काठमाडौं – गैरसरकारी संस्था, एक्सन वर्क्स नेपालकी अध्यक्ष सम्झना पौडेल ‘सोसल इम्प्याक्ट अवार्ड २०२२’बाट सम्मानित भएकी छिन् ।
एसियाली मुलुकमा महिला तथा किशोरीको स्वास्थ्य शिक्षा र उनीहरूको जीविकोपार्जनका सवालमा केन्द्रित भई काम गर्ने सामाजिक संस्थाहरूको सञ्जालको छनोटमा विमेन आइकोन नामक संस्थाले पौडेललाई पुरस्कारसहित सम्मान गरेको हो ।
भारतको तमिलनाडूमा हालै आयोजित कार्यक्रममा पौडेलसहित एसियाका अन्य देशका महिलाहरूले फरक–फरक विधाका पुरस्कार प्राप्त गरे ।
एसियाली मुलुकमा महिला तथा किशोरीको स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका सवालमा केन्द्रित भई काम गर्ने महिलामध्येबाट पौडेल उक्त पुरस्कारबाट सम्मानित भएकी हुन् ।
पत्रकारिता पेशामा लामो समयदेखि काम गर्दै आएकी पौडेलले विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आएकी छिन् । उनी हाल एक्सन वर्क्सकी अध्यक्ष हुन् । विशेषगरी, एक्सन वर्क्सले कर्णाली प्रदेशका जिल्लाहरूमा महिला तथा किशोरीको स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यसले ग्रामीण क्षेत्रमा प्रजनन् स्वास्थ्य, गर्भपतनको कानूनी मान्यता, परिवार नियोजनका साधनहरूको प्रयोगबारे महिलाहरुलाई जानकारी दिने र सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने गर्दछ । लामो समयदेखि सामाजिक क्षेत्रसँगै पत्रकारितामा पनि निरन्तर काम गर्दै आएकी पौडेल आउटलाइन मिडियासँग आबद्ध छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।