काठमाडौं– संसदीय सुनुवाइ समितिको बैठक फेरि पनि सरेको छ। आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अनुमान गरिएको थियो।
अर्को बैठक शुक्रबारलाई बोलाइएको समिति सदस्य योगेश भट्टराईले जानकारी दिएका छन्। सहमतिमै निर्णयमा पुग्नका लागि समय माग भएकाले बैठक स्थगित गरिएको उनले बताए। अर्को बैठकबाट भने निर्णयमा पुग्ने उनले विश्वास व्यक्त गरे।
जोशीको गत बिहीबार सुनुवाइ भएको थियो। सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीको हकमा बैठक पटकपटक सर्दै आएको छ।
बिहीबारको सुनुवाइपछि शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो। फेरि, सोमबारका लागि बैठक तोकिएको थियो। सोमबारको लागि बोलाइएको बैठकबाट पनि निर्णय हुन नसकेपछि बुधबारको लागि बोलाइएको थियो। बैठक फेरि शुक्रबारको लागि सरेको हो।
सुनुवाइको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उनका इजलाशले गरेका आदेशहरुमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए। उजुरीका आधारमा समितिका सदस्यहरुले उनलाई प्रश्न समेत सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।