काठमाडौं- सरकारले कम्पनी इजाजतको धरौटी रकम ५ करोडमाथि पुराउने प्रस्ताव ल्याएपछि मेनपावर व्यवसायीबीच विवाद भएको छ। बुधबार गौशालस्थित अनुपम पार्टी प्यालेसमा भएको मेनपावर व्यवसायीको भेलामा वैदेशिक रोजगार व्यवसायी संघ ५ करोड धरौटी पुर्या उने पक्षमा रहेको आरोप लगाउँदै नेपाली कांग्रेस निकट मानिने व्यवसायीले विरोध गरेका छन्।
व्यवसायीको भेलालाई संघका अध्यक्ष रोहन गुरुङले सम्बोधन गर्दागर्दै कांग्रेस निकट मेनपावर व्यवसायीले कार्यक्रममा नाराबाजी गरे। अध्यक्ष गुरुङले बोल्न सुरु गरेको ५ मिनेट नबित्दै केही व्यवसायी आक्रमण गर्नेगरी मञ्चमा पुगे। उनीहरुले धरौटी रकम बढाइए 'रगतको खोलो' बगाउने भन्दै मञ्चमा पुगेर कार्यक्रम अवरोध गरेका थिए। त्यसपछि गुरुङले आफ्नो सम्बोधन रोकेका थिए।
कांग्रेस निकट व्यवसायीले अध्यक्ष गुरुङले श्रम मन्त्रीसँग मिलेर धरौटी रकम बढाउन खोजेको आरोप लगाउँदै आएका छन्।
कांग्रेस निकटका व्यवसायीले नारा लगाउँदै अध्यक्ष गुरुङको राजीनामासमेत माग गरका थिए। वैदेशिक रोजगार व्यवसायी संघमा अध्यक्षसहित बहुमत सदस्य नेकपा निकटका छन्।
उनीहरुले अध्यक्ष गुरुङले व्यवसायीको हितमा काम गर्न नसकेको र श्रम मन्त्रीसँग आफ्ना कुरा राख्न खुटा कमाएको आरोप लगाएका छन्।
सरकारले वैदेशिक रोजगारीका विषयमा व्यवसायीसँग कुनै छलफल र परामर्श नगरी धरौटीको रकम बढाए मन्त्रालयमा लाइसेन्स बुझाएर कामदार पठाउन ठप्प पार्ने चेतावनीसमेत दिएका छन्।
उनीहरुले सरकारले अघि सार्न खोजेको मेनपावर कम्पनीलाई मर्ज गर्ने विषयको पनि विरोध गरेका छन्।
व्यवसायीले ७ लाख नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी धरौटीका रुपमा राखेपछि मेनपावर व्यवसाय सञ्चालन गर्न पाउँछन्। तर, अहिले सरकारले बैंक ग्यारेन्टीसहित ५ करोड रुपैयाँ बराबरको धरौटी लिने व्यवस्था लागू गर्न खोजेको छ।
धरौटी रकम कम हुँदा ठगी गर्ने मेनपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन समस्या भएको श्रम मन्त्रालयको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।