काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नजिकका पत्रकारहरुको संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ रहने भएको छ। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकताको लागि गठन गरेको कार्यदलले नयाँ नाम तय गरेको हो।
कार्यदलले एकीकृत संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिएको बताइएको छ। अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरिएको छ। संगठनको संरचनामा केन्द्रीय, प्रदेश, जिल्ला, शाखा र आयोगमा अनुशासन र लेखा रहने भएका छन्।
केन्द्रीय समिति अध्यक्ष र महासचिवसहित २ सय २५ सदस्यीय, प्रदेश समिति अध्यक्ष र सचिवसहित १ सय २५ सदस्यीय, जिल्ला समिति अध्यक्ष र सचिवसहित ३५ सदस्यीय र शाखा समिति अध्यक्ष र सचिवसहित ९ सदस्यीय हुने बताइएको छ। आयोगतर्फ अनुशासन र लेखातर्फ दुवै आयोगमा अध्यक्ष र सचिवसहित १५ सदस्य रहनेछन्।
आगामी तीन दिनभित्रमा दुवै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहको सूचीसहित कार्यदलले संगठन एकताको लागि पार्टीमा सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।