लन्डन- नेपालका मौलिक तयारी खाने कुरा अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ।
बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चनाको दाल र मासको दाल जस्ता तयारी खानेकुरा यसै सातादेखि बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलहरुमा पनि उपलब्ध हुने नेपाल फुड्सले जनाएको छ।
सोमबार ब्रिटिश संसद, हाउस अफ लर्ड्समा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेफ सन्तोष शाहले नेपाली खानालाई विश्व भरि चिनाउने अभियानकै रुपमा आफूले नेपाली स्वादका रेसिपीहरु तयार गरेको बताए। उनले तयारी चाउचाउ पकाएजस्तै यी खाने कुरा तातो पानीमा डुबाएर सुपको रुपमा, रोटी वा भातसँग पनि खान सकिने बताए। झोल मो:मोका लागि मसला र चट्नीहरु बनाउनेतर्फ आफूहरुले काम गरिरहेको पनि उनले बताए।
नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले सुरमा बेलायत निवासी नेपाली समुदायसम्म आफ्ना उत्पादनहरु पुर्याउने र पछि भारतीय समुदाय हुँदै युरोप तथा अमेरिका लगायत विश्वभरी नेपाली तयारी खाने कुरा पुराउने आफ्नो योजना रहेको बताए।
उनले एउटा ब्रिटिश च्यारिटी, फेज वर्ल्डवाइडसँग सहकार्य गरी नेपाल फुड फाउन्डेशन दर्ता गरिएको र हरेक प्याकेट बिक्रीको केही अंश उक्त फाउन्डेशनमार्फत् नेपालमा किसान समुदाय र तिनका बालबालिकालाई शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा रोजगारीका अवसर दिलाउन उपलब्ध गराइने जनाए। उक्त अवसरमा फेजका निर्देशक बिल्ली कुरियरले नेपाल फुड्ससँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली खाना, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने यो उद्यम सह्रानीय भएको बताए।
‘नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरु बढोस् भन्ने चाहन्छौं’, आचार्यले भने। उनले यी उत्पादनहरुलाई बेलायत मात्रै हैन संसारभरी पुर्याउ शुभकामना पनि दिए। नेपालका किसानहरुलाई लक्षित गरी नयाँ फाउन्डेशन सुरु गरेकोमा पनि उनले खुसी व्यक्त गरे।
‘तताउनोस् र खानोस् (हिट एण्ड इट)’ नाम दिइएका यी खानेकुराका प्याकेटहरु कोठाको तापक्रममा १८ महिनासम्म राख्न सकिने र बेलायतको सम्बन्धित निकायले अनुगमन गरी गुणस्तर सुनिश्चित गरेपछि मात्रै बजारमा ल्याइएको शेफ सन्तोष शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।