मेक्सिको सिटी– व्यावसायिक उडान भरिरहेको एयर मेक्सिकोको विमान दुर्घटनामा परेको छ। मेक्सिकोको डुरांगो प्रान्तस्थित गुडालुप भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानी मेक्सिको सिटीका लागि स्थानीय समयअनुसार मंगलबार दिउँसो ३ः०८ मा उडान भरेको फ्लाइट–एम–२४३१ विमान उडेको केही मिनेटपछि नै दुर्घटनामा परेको हो। दुर्घटनास्थल विमानस्थलबाट मात्र १० किलोमिटरको दुरीमा रहेको बताइएको छ।
९७ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सवार सो विमान दुर्घटनामा हालसम्म मानवीय क्षति नभएको डुरांगोका राज्यपाल जोस आर एसपुरोले बताए। उनका अनुसार घटनामा ८५ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर छ भने ३७ जनाको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेपछि विमानमा तत्कालै आगो नलागेकोले थप क्षति हुन नपाएको एसपुरोले बताए।

विमानस्थलका अधिकारीका अनुसार मौसमका कारण नै विमान दुर्घटनामा पर्न गएको प्रारम्भिक अनुमान गरेका छन्। तीव्र गतिमा हावाहुरी चलेका कारण विमानलाई आकस्मिक अवतरणको प्रयास गर्दा दुर्घटनामा परेको बताइएको छ।
मेक्सिकोस्थित नागरिक उड्डयनका प्रवक्ता एलेजान्द्रो कार्डोजाले विमानबाट अधिकांश आँफै पैदल हिँडेर बाहिर निस्किन सफल भएका थिए। दुर्घटनापछि सबै घाइतेको उपचारका लागि राज्यका सबै आकस्मिक तथा स्वास्थ्य सेवाका अंगहरुलाई खटाइएको छ।
मेक्सिकोका राष्ट्रपति इनरिक पेनाले एक ट्विट गर्दै घाइतेको उद्दार र सहयोगमा पूर्ण रुपमा खटिन राज्य सरकारलाई निर्देशन दिएका छन्।
दुर्घटनापछि गुडालुप भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।