काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ। मंगलबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो।
सरकार विरुद्धमा भएको प्रदर्शनमा ५ लाख भन्दा बढी पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको कांग्रेसले दाबी गरेको छ।
मंगलबारको भएको प्रदर्शनमा डा गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरसः कार्यान्वयन गर्न सरकारलाई दबाब दिने, चर्को मूल्य वृद्धिका विरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दबाब बढाउने लगायतका माग राखेर प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ।


तनहुँमा कांग्रेसकाे प्रदर्शन
त्यस्तै, निषेधाज्ञा फिर्ता लिन सरकारलाई खबरदारी गर्ने, उपकूलपतिको अपमानजनक गिरफ्तारीको विरोध गर्ने, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुको मानमर्दन गर्ने अभिव्यक्तिका बारेमा कारबाहीका लागि दबाब बढाउने लगायतका मुद्दाहरु पनि थिए।
काठमाडौंमा भएको प्रदर्शन शान्तिवाटिकाबाट सुरु भएको र्यालीसहितको विरोध प्रदर्शन असन, इन्द्रचोक, न्युरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत भएको थियो।

काठमाडौंमा भएको प्रदर्शनमा सहभागी कांग्रेस कार्यकर्ता
कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले सर्वसत्तावादी सोच तत्काल नत्यागे रुँदै सत्ता छोड्न सरकार बाध्य हुने चेतावनी दिएका छन्। कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादी सोच नत्यागे कानुनमन्त्री शेरबहादुर तामाङले झै रुँदै सत्ता छोड्न जनताले बाध्य बनाउने चेतावनी दिए। उनले राजनीतिक स्थिरता र समृद्धिको नारा दिएको सरकारले मुलुकमा अस्थिरता निम्त्याएको, समृद्धिको बाहक शक्ति कांग्रेसलाई निषेध र नियन्त्रण गर्न खाजेको भन्दै आक्रोश पोखे।
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारलाई निषेध र नियन्त्रणको राजनीति नगर्न चेतावनी दिए। उनले ५ वर्षका लागि म्यान्डेट पाएको सरकारले ५ महिना नपुग्दै जनतालाई दिक्क बनाएको दाबी गर्दै जनताका अगाडि सरकारको सर्वसत्तावाद नटिक्ने तर्क गरे।

नेता महतले सरकारले आफू अनुकुल आदेश र फैसला गराउन न्यायालयमाथि धावा बोल्न थालेको आरोप लगाए। उनले सरकार सर्वसत्तावाद ल्याउन न्यायालय र प्रेस नियन्त्रणको बाटोमा लागेको टिप्पणी गरे।
‘प्रधानमन्त्री केपी शर्मा ओली प्रेस र स्वतन्त्र न्यायलयमाथि धावा बोल्दै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुले भने अनुसार न्यायलयले काम गरोस् भन्ने चाहाना अन्र्तगत सुनुवाइ सार्दै आउनु भएको छ।’, नेता महतले भने।

काठमाडौंकाे प्रदर्शनपछि सम्वाेधन गर्दै नेता नविन्द्रराज जोशी, साथमा प्रकाशमान सिंह, डा प्रकाशशरण महतलगायत
विरोध प्रदर्शनमा कांग्रेस नेता नविन्द्रराज जोशीलगायतका वक्ताहरुले पनि सरकारले एकपछि अर्को जनविरोधी कदम चालेको भन्दै आक्रोश व्यक्त गरेका थिए। नेपाली कांग्रेसले महंगी बढाउने लगायतका जनविरोधी काम गरेको भन्दै सरकारविरुद्धको प्रदर्शनलाई चर्काउँदै लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।