काठमाडौैं– स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन्।
सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए।
दुई सचिवले समेत स्वेच्छिक अवकाशको निवेदन फिर्ता गरेका छन्। सचिवहरुमा डा सरोज पोखरेल र शम्भु कोइराला छन्। त्यस्तै छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । फिर्ताका लागि निवदेन दिनेमा सहसचिवमा चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी छन्।
प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने बताए। सरकारले एकै पटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक व्ययभार बढ्ने तथा कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले अवकाश फिर्ता लिने निर्णय गरेको हो।
मन्त्रालयले गत जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता लिन थालेको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई अघिल्लो सरकारले स्वेच्छिक अवकाशलाई आह्वान गर्दा करीब नौ हजार ६ सय ७१ कर्मचारीले निवेदन दर्ता गराएका थिए। केही कर्मचारीले स्वेच्छिक अवकाश कार्यक्रम रोकेको भन्दै सर्वाेच्च अदालतमा रिट समेत दायर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।