काठमाडौं- दसैंको योजना के छ भनेर सोध्दा प्रायः धेरैको उत्तर हुन्छ- गाउँ फर्किने, ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद लिने, मासु तथा अन्य परिकार खाने र पिङ खेल्ने।
नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको दशैं योजना भने अरुको भन्दा फरक तर रोचक छ।
दसैं आयो भन्ने वित्तिकै डा रुइत परिवारसँग ट्रेकिङ वा कुनै ठाउँ घुम्न जाने समय भन्ने सम्झन्छन्।
‘हाम्रो दशैं भनेको जहिले पनि फ्यामिली ग्यादरिङ गर्ने, कि बाहिर घुम्न जाने कि सँगै बसेर गफगाफ गर्ने। अलिअलि खाने, धेरै हिँड्ने नै हो,’ डा रुइतले सुनाए, ‘दशैंमा प्रायः हामी ट्रेकिङ जान्छौं।’
डा रुइत र उनको परिवार अघिल्ला वर्षहरुको दशैंको समयमा लाङटाङ, हिमाली क्षेत्रहरु, मनाङ, मुस्ताङ, धनकुटा, ताप्लेजुङ, खाँदबारी, लगायतका ठाउँहरुमा ट्रेकिङ गइसकेका छन्।
डा रुइतको परिवारमा दशैंमा टीका, जमरा लगाउने संकृति नभए पनि राष्ट्रिय पर्वको रुपमा मनाउने गरिएको उनले बताए।
डा रुइतले भने, ‘हाम्रोमा दशैंमा टीका लगाउने संस्कृति कहिले पनि छैन। तर हामीले राष्ट्रिय पर्वको हिसाबले सेलिब्रेसन भने गर्छौं।’
चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीले आफ्नो सांस्कृतिक चाडपर्वमा बिदा पाउन मुस्किल पनि पर्छ।
डा रुइतको परिवारमा दशैंमा टीका, जमरा लगाउने चलन नभए पनि पारिवारिक भेटघाट, खानपिन र घुम्ने योजना दसैंकै माहोलमा हुन्छ।
नेत्र रोग विशेषज्ञको रुपमा काम गर्दा चिकित्सकीय पेसाका कारण दशैंमा घुम्ने योजना भने स्थगित गर्नु परेको डा रुइतलाई सम्झना छ।
‘आजभोलि त परिवारमा सबैको स्वास्थ्य अवस्था ठिक छ भने घुम्न जान समय हुन्छ,’ डा रुइतले सम्झिए, ‘पाँच वर्ष अगाडि दशैंमा थोराङ्ला पास जाने योजना बनाइसकेका थियौं। तर भुटानमा आँखा शिविरका लागि भुटान जानुपर्ने भयो, थोराङ्ला पास जान भने पाइएको थिएन।’
डा रुइतलाई दशैंमा काठमाडौंमै बस्नुभन्दा ट्रेकिङ जान नै रमाइलो लाग्छ। ट्रेकिङ जान जस्तो आनन्द अरु केही हुँदैन,’ उनी भन्छन्, ‘यहाँ बसिरहनुभन्दा परिवारसँग ट्रेकिङ जान धेरै रमाइलो हुन्छ। नेपालमा ट्रेकिङ जाने राम्रा–राम्रा ठाउँहरु छन्, जानुपर्छ नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।