काठमाडौं– नेपाल घुम्न आउने पर्यटकको उद्धारको नाममा हुने ठगीमा २६ वटा संस्थाको संलग्ता भेटिएको छ। उनीहरुविरुद्ध संगठित अपराध तथा ठगी मुद्दामा कारबाही हुने भएको छ।
१० वटा अस्पताल, ८ वटा ट्रेकिङ कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोकार गर्ने कम्पनी तथा ३ वटा हेलिकोप्टर कम्पनीको ठगीमा संलग्नता भेटिएको हो।
पर्यटन मन्त्रालयले गठन गरेको ‘पर्यटक उद्धारसम्बन्धि छानबिन कार्यदल’ले ठगीमा संलग्नहरुलाई संगठित अपराध र ठगी मुद्दामा कारबाही गर्न सिफारिस गरेको छ। पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको हो।
कार्यदलले घटनाको सघन रुपमा अुनसन्धान गरी मुद्दा चलाउन सुझाव दिएको छ।
६ वटा अस्पताललाई स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने तथा ३ वटालाई राजश्व चुहावटमा छानबिन गर्न सिफारिस गरिएको छ। विदेशी मुद्राको अपचलन गर्ने ५ वटा कम्पनीलाई राष्ट्र बैंकमार्फत कारबाहीकाे सुझाव दिइएको छ।
८ वटा ट्रेकिङ एजेन्सी, ४ वटा अस्पताल र ३ वटा हेलिकोप्टर कम्पनीको नाम नै उल्लेख गरेर कारबाही गर्न भनिएको छ ।
साथै अबका दिनमा पर्यटको उद्धारको कामको जिम्मेवारी नेपाल प्रहरीलाई दिन भनिएको छ। कार्यदलले मन्त्रिपरिषद्बाट निर्णय गराई यही महिनादेखि पर्यटन उद्धारसम्बन्धि सबै काम नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाउन सुझाव दिइएको छ। जसअनुसार प्रहरीले नै उद्धारका लागि हेलिकोप्टर र अस्पतालको व्यवस्था मिलाउने छ। प्रहरीले कल्याण कोषबाट खर्च हुने गरी यस्तो व्यवस्था मिलाउने र पछि शोधभर्ना लिन सुझाव दिइएको छ।
कार्यदलले ‘पर्वतारोहन तथा पदयात्रा, खोज तथा उद्धार सम्बन्धि कार्यविधि २०७५’ तर्जुमा गरी १५ दिनभित्र कार्यान्वायन गर्न गर्नुपर्ने औल्याएको छ। कार्यदलले दुई महिना लगाएर ७ सय पृष्ठ लामो प्रतिवेदन दिएको हो।
प्रतिवेदन कार्यान्वायनका लागि सोमबार नै पर्यटनमन्त्री अधिकारीले सचिवलाई निर्देशन दिएको मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
कारबाहीका लागि सिफारिस गरिएका हेलिकोप्टर कम्पनी, अस्पतला तथा ट्रेकिङ एजेन्सीहरुको नाम सार्वजनिक गरिएको छैन।
कार्यदलका सुझाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।