मलेसिया– मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।
गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए।
विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ छ। राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थाहरुसंग समन्वय तथा सहकार्यलाई विशेष महत्त्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताए।
नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।
सो अवसरमा उनले मलेसियामा रहेका नेपालीहरुलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिट्यान्स पठाउन आग्रह गर्दै हुन्डी लगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने बताए।
मुलुकको हितका लागि नेपाल-मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने राजदूत पौडेलको प्रतिबद्धता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।