काठमाडौं- दुर्घटना मुद्दामा साउदीको जेलबाट मुक्त भए पनि 'ब्लडमनी' तिर्न नसकेर नेपाल आउन नपाएका झापाका प्रशान्त लिम्बूको उद्धारका लागि रकम संकलन अभियान सुरु भएको छ। प्रवासी नेपाली समन्वय समिति पिएनसिसीले लिम्बूले तिर्नुपर्ने ब्लडमनी रकम जुटाउन अभियान थालेको हो।
२ वर्षअघि रोजगारीका लागि साउदी अरबको रियादस्थित धुर्मामा पुगेका झापाका लिम्बूले चलाएको सवारी साधन दुर्घटना हुदाँ साउदीका एक नागरिकको मृत्यु भएको थियो।
उक्त सडक दुर्घटनामा लिम्बुलाई दोषी ठहर गर्दै साउदीको पुनरावेदन अदालतले २ लाख ४० हजार रियाल जरिवाना (ब्लडमनी) तिर्न आदेश दिएको थियो। अदालतले उक्त ब्लडमनी आधा कम्पनीले र आधा लिम्बूले तिर्नुपर्ने फैसला गरेको थियो। जसमा लिम्बूले १ लाख २० हजार रियाल तिर्नुपर्ने हुन्छ। जुन नेपाली रुपैयाँ अनुसार ३६ लाख हो।
लिम्बूसँग साउदीको चालक अनुमति पत्र नहुँदासमेत गाडी चलाउन लगाएका कारण कम्पनीलाई पनि अदालतले दोषी ठहर गरेको हो।
फैसलासँगै ६ महिनाअघि जेलबाट मुक्त गरे पनि ब्लडमनी तिर्न नसक्दा लिम्बू नेपाल फर्किन पाएका छैनन्।
बुबा उदयसिंह लिम्बू र श्रीमती कमला लिम्बूले पिएनसिसीमा आएर प्रशान्तको उद्धारका लागि सहयोग गर्न आग्रह गरेको पिएनसिसीका अध्यक्ष कुलबहादुर कार्कीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिए।
लिम्बूको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न लागिएको अध्यक्ष कार्कीले जनाए।
पिएनसिसीकै पहलमा साउदीबाटै नवलपरासीका थानेश्वर भुसालको उद्धार गरिएको थियो। उनले तिर्नुपर्ने ब्लडमनी बापतको झन्डै ४५ लाख रुपैयाँ जुटाउन पिएनसिसी, एनआरएन लगायत देश-विदेशमा रहेका संघसंस्था मार्फत नेपालीले सहयोग गरेपछि भुसाल नेपाल फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।