काठमाडौं– चीनसँगको व्यापार तथा पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) मा हस्ताक्षर हुने मिति सरेको छ। चीनले आफ्नो तर्फबाट तयारी नपुगेको जानकारी गराएपछि यही साउनको अन्तिम वा भदौको सुरुताका (अगस्ट दोस्रो या तेस्रो साता) का लागि नयाँ मिति तय गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर शैंजुले बताए।
यही जुलाई (आगामी मंलगबार) सम्म उक्त प्रोटोकलमा हस्ताक्षर हुनेगरी मिति तय गरिएको थियो। तर, अन्तिम समयमा चीनले तयारी नपुगेको जानकारी गराएपछि प्रोटोकलमा हस्ताक्षर हुने समय थप लम्बिएको हो।
‘प्रोटोकलमा समेटिने विषयको प्रारम्भिक खाका तयार भइसकेको छ,’ मन्त्रालयका प्रवक्ता शैंजुले भने, ‘तय गरिएको नयाँ मितिमा दुवैतर्फबाट हस्ताक्षर हुन्छ।’
प्रोटोकलमा द्विपक्षीय हस्ताक्षर भएपछि ०७२ फागुनमा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनको बाटो खुल्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ५ देखि १० असारमा भएको चीन भ्रमणमा प्रोटोकलको विषय टुंग्याइने भनिए पनि तयारी नपुगेपछि अगाडि बढ्न सकेको थिएन।
त्यसपछि सरकारले प्रोटोकल सम्झौताको तयारीका लागि मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा टोली गठन गरेको थियो। उक्त टोलीले प्रोटोकललाई अन्तिम रुप दिने कार्यादेश पाएको थियो।
उक्त टोलीले नेपालका तर्फबाटको तयारी करिब अन्तिम चरणमा पुर्याइसकेको जनाइएको छ।
प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार विविधीकरण हुनेछ। खासगरी भारतसँग रहेको झन्डै एकाधिकारपूर्ण व्यापार प्रवृत्तिलाई यसले न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
प्रोटोकल सम्झौतापछि नेपालले चीनका बन्दरगाह उपयोग गर्ने, सडकमार्गको उपयोग गर्न पाउने, इन्धनको आपूर्ति गर्न पाउने लगायतको बाटो खुल्नेछ।
यो पनि पढ्नोस्
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा छुटेका कुरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।