काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइबाट अनुमोदन गर्ने/नगर्ने विषयमा निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक दोस्रो पटक स्थगित भएको छ। संसदीय सुनुवाइ समितिको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो।
बिहीबार प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई सुनुवाइ समितिमा सांसदहरुले प्रश्न सोधेका थिए। सांसदका प्रश्नमा जोशीको जवाफ आइसके पनि पर्याप्त छलफल नभएको भन्दै शुक्रबारका लागि बैठक सरेको थियो।
शुक्रबार बैठक बस्दै नबसी आज बिहान साढे ८ बजेका लागि बोलाइएको थियो। विशेष गरेर कामु प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्रको बारेमा सञ्चारमाध्यममा समाचार आइरहनु र समितिले पनि बैठक सार्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ। तर समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले भने प्रतिनिधिसभा लगायतका बैठक परेकाले बैठक स्थगित गरिएको बताए। यसअघि सुनुवाइ समितिले सुनुवाइकै दिन अनुमोदन सम्बन्धी निर्णय गर्दै आएको थियो।
सुनुवाइ सकेर समितिले निर्णय सुनाउनकै लागि बोलाइएको बैठक दुई पटकसम्म स्थगित गरेपछि शंका उब्जिएको छ।
प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्बाट प्रस्तावित नामलाई अनुमोदन नगर्न संसदीय सुनुवाइ समितिको कुल सदस्य संख्याको दुई तिहाइ आवश्यक पर्दछ। हाल संसदीय समितिमा कायम १४ सदस्य संख्यामा १० सदस्यहरु सत्तारुढ घटक नेकपा र संघीय समाजवादी फोरमका रहेका छन्। जुन कुल सदस्य संख्याको दुई तिहाइ बढी हुन आउँछ।
संसदीय सुनुवाइ विशेष समितिलाई संवैधानिक अंगका पदाधिकारी, सर्वोच्चका प्रधानन्यायाधीश र न्यायाधीश तथा राजदूतहरुको सुनुवाइ गर्ने अधिकार संविधानले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।