नवलपरासी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक व्यवस्था उल्लंघन गरी संविधानमाथि प्रहार सुरु गरेको बताएका छन्। नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसियनको गैंडाकोटमा सुरु भएको १०औं महाधिवेशन उदघाटनमा बोल्दै देउवाले सभामुख र उपसभामुख एउटै दलको राखेर कम्युनिस्टहरुले प्रजातान्त्रिक मूल्य मान्यतामाथि प्रहार गरेको उनले बताए।
देउवाले सरकारले उपकुलपतिलाई संयुक्त रुपमा हटाउन लागेको आशंका पनि उब्जिएको बताए।
उनले सरकारको विरोधमा कांग्रेसले घोषणा गरेको साउन १५ को आन्दोलन नरोकिने बताए।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीको संसदीय सुनुवाई रोकिनु शंकास्पद भएको बताए। संसदीय सुनुवाई सकेर तत्काल निर्णय दिने भन्दा पनि दुई तिहाईको दुरुपयोग गर्ने ढंगबाट प्रधानन्यायधीशको संसदीय सुनुवाइ रोकिएको उनले शंका गरे।
‘कतै सत्ताको केही बार्गेनिङका लागि संसदको दुईतिहाई संख्याको दुरुपयोग गर्ने ढंगबाट त संसदीय सुनुवाई रोकिएको होइन,’ उनले भने।
पौडेलले सभामुख र उपसभामुखले पार्टी छोडेको भए कानुन बमोजिम सांसद हुन नपाउने जिकिर गरे।
‘हरेक पटक जस्तो भन्दै आएको छु, रातो झन्डा ओढेपछि सबै खत माफ गर्ने खतरनाक प्रवृतिले बढवा पाएको छ,' उनले भने। पौडेलले प्रशासन, न्यायलय सबैतिर नेकपाको सरकारले पार्टीको प्रभाव बढाउन थालेको आरोप लगाए।
उनले भने, 'सरकारका कदमले लोकतन्त्रमाथि खतराको बादल मडारिन थालेको छ।'
सरकारका हरेक निर्णयले मुलुकलाई केन्द्रीयकरण गरेको नेता पौडेलको भनाइ थियो। मुलुकको शक्ति प्रधानमन्त्रीको हातमा मात्र पार्ने प्रक्रिया सुरु भएको बताउँदै पौडेलले एक मान्छेको हातमा सिंगो मुलुकको शक्ति पुग्नु भनेको लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गरे।
पार्टीको आन्तरिक विषयमा बोल्दै नेता पौडेलले कम्युनिस्टसँग लड्नका लागि कांग्रेस आफैं सुधारिनु आवश्यक रहेको धारणा राखे। पौडेलले भने, ‘पार्टीलाई सुकिला मुकिलाहरुले घेर्न थालेका छन्।’
कांग्रेसले साउन १५ मा गर्न लागेको विरोध खबरदारीका लागि मात्र भएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।