विराटनगर– प्रदेश १ का १४ जिल्लामा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा अपराधका घटनामा कमी आएको छ।
आर्थिक वर्ष २०७३/०७४ भन्दा २०७४/०७५ मा करिब २ सय ५९ वटा अपराधका घटना कम भएका हुन्।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार २०७३/०७४ मा प्रदेश १ मा कुल ७ हजार ९ सय ५० वटा अपराधका घटना भएका थिए। २०७४/०७५ मा सो संख्या घटेर ७ हजार ६ सय ९१ वटा रहेको प्रहरीको तथ्याङ्क छ।
प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानरीक्षक (डीआइजी) केदार रिजालले आर्थिक वर्ष २०७४/०७५ को साउनमा ५ सय ७७, भदौमा ६ सय, असोजमा ५ सय ९४, कात्तिकमा ५ सय ४५, मंसिरमा ५ सय ५२, पुसमा ५ सय १, माघमा ५ सय ३७, फागुनमा ६ सय ६७ र चैतमा ६ सय ९४ वटा घटना भएका छन्। यस्तै, बैसाखमा ६ सय ८९, जेठमा ८ सय ५० र असार महिनामा सबैभन्दा बढी १ हजार १ सय ३६ वटा अपराधका घटना भएका छन्।

त्यसैगरी अन्य दिनभन्दा शुक्रबार बढी घटना घट्ने गरेको रिजालको भनाइ छ। उनका अनुसार पछिल्लो एक वर्षमा शुक्रबार मात्रै १ हजार १ सय २८ वटा अपराधजन्य घटना भएका छन्। ‘वर्षभरीको रेकर्ड हेर्ने हो भन्ने, सबैभन्दा बढी अपराधका घटना भएको महिना असार देखिन्छ।,’ प्रदेश प्रहरी प्रमुख रिजालले भने, ‘त्यसमा पनि बारको हिसाबमा शुक्रबार धेरै अपराधको घटना भएको छ। अपराधको घटनाको संख्या अरु समय भन्दा मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्मको समयमा उच्च देखिन्छ।’
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशअन्तर्गत १४ जिल्लामध्ये सबैभन्दा धेरै अपराध सुनसरीमा १ हजार ९ सय ९० वटा र सबैभन्दा कम तेह्रथुममा १ सय वटा भएका छन्।

प्रदेशभर भएका कुल अपराधका घटनामध्ये झापामा १ हजार ६ सय ८७, मोरङमा १ हजार ६ सय २७, उदयपुरमा ५ सय ३५, पाँचथरमा २ सय ८१ वटा घटना भएको तथ्यांक छ।
त्यसैगरी, इलाम जिल्लामा २ सय ४२, संखुवासभामा २ सय १८, ताप्लेजुङमा १ सय ६७, भोजपुरमा १ सय ६६, खोटाङमा १ सय ६०, धनकुटामा १ सय ४७, सोलुखुम्बुमा १ सय ३१ र ओखलढुङ्गा जिल्लामा १ सय ३० अपराधका घटना भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।