काठमाडौं– नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहका नाइके कलाकार सुदर्शन गौतम रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। क्यानाडामा रहेका गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरिएको छ।
तीन युवतीलाई अमेरिका लैजाने भन्दै हाइटी पुर्याएर उनले अलपत्र बनाएको र त्यसमध्ये एक युवतीको समुद्रमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यहाँबाट फर्किएका युवतीको उजुरीका आधारमा प्रहरीले गौतमविरुद्ध मुद्दा दायर गरेको हो।
सागर श्रीष
महानगरीय अपराध महाशाखाले गौतमको मानव तस्करी गिरोहमा आबद्ध बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो। उनीहरु चारै जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। गौतमलाई फरार अभियुक्त बनाई मुद्दा दायर गरिएको छ। जिल्ला अदालतले गौतमको नाममा वारेन्ट जारी गरिसकेको छ। सोही आधारमा प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस समेत जारी गर्ने तयारी गरेको स्रोत बताउँछ।
को हुन् गौतम?
केही वर्षअघि सगरमाथा चढेपछि गौतम चर्चामा आएका थिए। दुवै हात नभएका व्यक्तिले सगरमाथा चढेको भन्दै उनको प्रशंसा भएको थियो। त्यसपछि उनले ‘हिम्मतवाली’ नामक फिल्ममा समेत अभिनय गरेका थिए। सो फिल्मबाट उनको थप चर्चा भएको थियो।
रामेछापकाका गौतम क्यानाडाका नागरिक भइसकेका छन्। उनी त्यहाँ रेस्टुरेन्ट लगायत विभिन्न व्यवसाय गर्दै आएका छन्।
१८ दिन समुद्रमा अलपत्र
करिब २ वर्षअघि गौतमको समूहले तीन नोपली युवतीलाई विभिन्न देश हुँदै हाइटी पुर्याएको थियो। फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो।
त्यहाँबाट ७ घन्टा पानीजहाज चढेपछि अमेरिकाको सीमाना पुगिने आश्वासन दिइएको थियो।
यस्तो छ घटनाक्रमः
७ घन्टामा अमेरिका पुग्ने सपना बोकेर नेपाली युवतीसहितको समूह पानीजहाज चढ्छन्।
तर, समुद्रको बीचमा पुगेर पानीजहाजको इन्जिन बिग्रन्छ। इन्जिनले काम नगरेपछि पानीको वहाबअनुसार जहाज अघि बढ्छ। उनीहरुसँग भएको खाना सकिन्छ। पिउने पानी समेत हुँदैन।
तीन नेपाली युवतीमध्ये सुमित्रा कुँवर कटवाल बिरामी हुन्छिन्। उनले जबरजस्ती समुद्रको नुनिलो पानी पिउँछिन्। पानी पिएको केही घन्टामै उनको मृत्यु हुन्छ। उनको शव गन्हाउने भन्दै समुद्रमै फालिन्छ।
अरु पनि बिरामी हुँदै जान्छन्।
१८औं दिनमा पानीजहाज बहामास देशको समुद्री किनारमा पुग्छ। समुद्री सुरक्षा गार्डले आफ्नो देशमा अवैध रुपमा पानीजहाज प्रवेश गर्न लागेको देखेपछि त्यसलाई नियन्त्रणमा लिन्छन्। जुनबेला पानीजहाजमा रहेका अधिकांश व्यक्ति बेहोस भइसकेका थिए। सुरक्षा गार्डले नै उनीहरुलाई अस्पताल लैजान्छन्।
त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरु आफन्तलाई सम्पर्क गरी नेपाल फर्किएका हुन्।
यो घटना करिब एक वर्ष अगाडिको घटना हो। तर, प्रहरीले करिब डेढ महिनाअघि मात्र थाहा पाएर पीडितलाई सम्पर्क गरी अनुसन्धान अघि बढाएको हो।
उनीहरुकै उजुरीका आधारमा श्रीषसहित ४ जना पक्राउ परेका हुन्। अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि मुद्दा दायर गरिएको अपराध महाशाखाका डिएसपी मनोहर भट्टले बताए।
डिएसपी भट्टका अनुसार पीडितहरुले गौतमलाई पैसा दिएको प्रमाण भेटिएको छ। गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएका थिए।
गौतमले कतिपय व्यक्तिलाई त्यसरी अमेरिका र क्यानाडामा मानव तस्करी गरेको र कतिपयलाई ठगी गरेको अनुसन्धानमा खुलेको छ।
दुई वर्षअघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा गौतम विवादमा तानिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।