काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश दीपकराजा जोशीलाई संसदीय सुनुवाइबाट अनुमोदन गर्ने / नगर्ने विषयमा निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक आइतबार ८ बजेसम्मका लागि स्थगित भएको छ।
बिहीबार प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई सुनुवाइ समितिमा सांसदहरुले प्रश्न सोधेका थिए। सांसदका प्रश्नमा जोशीको जवाफ आइसके पनि पर्याप्त छलफल नभएको भन्दै शुक्रबारका लागि बैठक सरेको थियो।
शुक्रबार बैठक बस्दै नबसी आइतबारका लागि सारिएको हो। समितिका जेष्ठ सदस्य लक्षमलाल कर्णले प्रतिनिधिसभाको बैठक लम्बिएकाले समितिको बैठक आइतबारलाई सारिएको जानकारी दिएका छन्। यसअघि सुनुवाइ समितिले सुनुवाइकै दिन अनुमोदन सम्बन्धी निर्णय गर्दै आएको थियो।
संसदीय सुनुवाइ विशेष समितिलाई संवैधानिक अंगका पदाधिकारी, सर्वोच्चका प्रधानन्यायाधीश र न्यायाधीश तथा राजदूतहरुको सुनुवाइ गर्ने अधिकार संविधानले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।