काठमाडौं– भूकम्पपश्चात् निजी आवास पुनःनिर्माणमा भारतले जनाएको अनुदान सहयोग दिने प्रतिवद्धतामध्ये पहिलो किस्ताबापत २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको छ। शुक्रबार अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भारतीय राजदुत मञ्जिव सिंह पुरीले उक्त रकम बराबरको चेक अर्थ सचिव डा राजन खनाललाई हस्तान्तरण गरेका हुन्।
भारतले घोषणा गरेको अनुदान सहयोग कुल २५ अर्बमध्ये पहिलो किस्ताको रुपमा २ अर्ब १० करोड ४३ लाख रुपैयाँ भारतीय दुतावासले हस्तान्तरण गरेको हो।
यद्यपि २०७२ असारमा भारतले १ खर्ब रुपैयाँ सहयोगको घोषणा गरेको थियो। राजधानीमा आयोजना भएको नेपालको पुनःनिर्माणको लागि अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले उक्त रकम दिने घोषणा गरेकी थिइन्।
भारतले भूकम्प लगत्तै दिने भनिएको एक खर्बसहित समग्रमा २ खर्ब रुपैयाँ नेपालको पुनःनिर्माणमा आउने बताइएको थियो। तर भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि उक्त रकम आउन सकेको थिएन।
भूकम्पपछि विभिन्न सम्पदाको पुनःनिर्माणमा समेत भारतले जनाएको प्रतिवद्धता अनुसारको रकम नआउँदा तीन वर्ष भइसक्दा पनि कतिपय सम्पदाको निर्माण कार्य सुरु हुन सकेको छैन। भारतले काठमाडौं उपत्यका तथा उपत्यका बाहिर गरी २८ गुम्बा तथा मठ मन्दिरको पुनःनिर्माणमा प्रतिवद्धता जनाएको थियो। प्रतिवद्धता अनुसार हालसम्म कुनै पनि सम्पदाको काम सुरु भएको छैन।
भारतले पाटनको नापिचन्द्र महाविहार, गोपिचन्द्र महाविहार, भिमसेन मन्दिर, सिन्धुपाल्चोकको चिरी गुम्बा, सेतो मछिन्द्रनाथ मन्दिर, ओखलढुंगाको नामहोलिङ गुम्बा तथा ललितपुरको रत्नकार महाविहार लगायतका सम्पदा पुनःनिर्माण गर्ने प्रतिवद्धता जनाएको थियो।
२०७२ असार १० गते नेपालले आयोजना गरेको दाता सम्मेलनमा भारतले पुनःनिर्माणका लागि एक खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। त्यसमा २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण रहेको जनाइएको थियो।
गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला भारतसँग अनुदान तर्फको २५ अर्ब रुपैयाँको सम्झौता भएको थियो। सम्झौता अनुसार उक्त रकममध्ये निजी आवास पुनःनिर्माणमा १० अर्ब, विद्यालय पुनःनिर्माणमा ५ अर्ब, स्वास्थ्य संस्था पुनःनिर्माणमा ५ अर्ब र सम्पदा पुनःनिर्माणमा ५ अर्ब खर्च गर्ने उल्लेख छ। तर, सम्झौता अनुसार खर्च भने हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।