रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा बुधबार राति गएको पहिरोमा परी हालसम्म ९ जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएकोमा ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ भने बाँकी घाइतेको टिमुरेमै उपचार गरिएको छ। हाल उनीहरुको अवस्था सामान्य छ।
पहिरोमा ४ वटा घर, रसुवागढी नाकातर्फ हिँडेका ३ वटा कन्टेनर, एउटा एल्पी ग्यास बोक्ने ट्रक तथा एउटा टिप्पर र नेपाल प्रहरीको अस्थायी प्रहरी बीटसमेत पुरिएको छ। पुरिएका घरमध्ये एक होटल(टासी देले होटल)समेत रहेका कारण अझै केही व्यक्ति हराइरहेको हुनसक्ने भन्दै प्रहरी तथा स्थानीयले खोजीकार्य जारी राखेका छन्।
पहिरोस्थल चीनसँगको नेपालको एक मात्र नाका रसुवागडीबाट मात्र २ किलोमिटरको दुरीमा रहेको कारण हाल नाका ठप्प छ। आवातजावत बन्द हुँदा रसुवागढी भन्सारका सबै कारोबारसमेत ठप्पजस्तै छ। आज साँझसम्ममा पहिरो पन्छाएर बाटो खुलाउने प्रयासमा प्रहरी लागिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए।
९ जनाको ज्यान जानेगरी भएको सो घटनाबारे घाइतेमध्येकी एक ४२ वर्षीय पोक्की तामाङ भन्छिन्–
बुधबार राति ११ बजे खाना खाएर सुतेका थियौँ। सुतेको केही समयपछि नै चट्याङ परेजस्तै आवाज सुनियो र निद्रा भंग भयो। डरलाग्दो आवाज सुनिन थालेपछि जुरुक्क उठें। घरबाहिर पानी दर्किरहेको आवाज घरभित्रसम्म सुनिएको थियो। जब नजर घरबाहिर लगेँ, माथिबाट पहिरो झरिरहेको पत्तो पाएँ।
मसँगै छेउमै २ जना छोराछोरी सुतिरहेका थिए। उनीहरुलाई उठाएर भाग्न खोजेँ तर छोरीसँगै घरभन्दा तल गुल्टिएँ। त्यतिनै बेला ठुलो ढुङगाले टाउकोमा लागेकोसम्म होस थियो। त्यसपछि बेहोस भएछु। केही बेरपछि होस आएर हेर्दा छेउमै छोराछोरीहरु बाआमा भन्दै रोइकराई गर्दै थिए। त्यसपछि सकि–नसकी उठेँ। आडैमा श्रीमान् बेहोस अवस्थामा लडिरहेका थिए। पानी परिरहेकै थियो, पहिरो झर्ने क्रम पनि रोकिसकेको थिएन। त्यसपछि बेहोस अवस्थामा रहेका श्रीमान् र छोराछोरीलाई घरभन्दा तल्लो बारीमा पल्ट्याइदिएँ, जसले गर्दा हामी बाँच्न सफल भयौँ।

श्रीमान्का साथमा पोक्की तामाङ
आडकै घर पनि पहिरोले पुरिसकेको रहेछ। तैपनि कोही बोलीपो हाल्छकी भनेर ४ पटकसम्म चिच्याएँ। कसैको आवाज सुनिएन। ज्यान जोगिएला भनेर पहिरोभन्दा पर लडाइदिएका छोराछोरी त सिस्नोको झाडीमा पुगेका रहेछन्। सिस्नोले पोलेर होला उनीहरु चिच्याइरहेको सुनेपछि सकि–नसकी सिस्नो झाडीबाट निकालेँ। त्यहाँबाट पर भाग्न खोज्दा कहिले जस्तामा टेकिएछ, कहिले पहिरोको तिखा ढुंगामा टेकिएछ। त्यतिबेला त केही हेक्का भएन, तर केहीसमयपछि बिस्तारै टाउको, खुट्टा सबैतिर दुख्न थाल्यो। पछि के भयो, कसले उपचार गर्यो, मलाई केही सम्झना छैन। सायद फेरी बेहोस् भएछु की?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।