मुम्बई– रोजगारीको सिलसिलामा भारतको मुम्बई पुगेको बाजुराको एक परिवार अलपत्र परेको छ। बूढीनन्दा नगरपालिका–१० घर भएका राजपुरा दमाईको ६ जनाको परिवार अलपत्र परेको हो।
आज भन्दा ५ वर्ष अगाडि रोजगार खोज्दै मुम्बई पुगेका राजपुराका श्रीमान भाने दमाईको गत साउनमा मुम्बईमा मृत्यु भएपछि उनका दुई छोरा र तीन छोरीसहित ६ जनाको परिवार अलपत्र परेको मुम्बईमा रहेका महेश कार्कीले बताएका छन्।
पाँच बालबालिकाको साथमा रहेकी राजपुरालाई गासबासको व्यवस्थापन गर्न गाह्रो भएको दुखेसो पोखिन्। केहीदिन आफन्तको कोठामा बसेर गुजारा चलाइरहेपनि दैनिक खानाको जोहो गर्न हम्मेहम्मे पर्ने गरेको उनको भनाइ छ।
इन्टरनेशनल अर्गनाइजेशन अफ माइग्रेशन (आईओएम) को सन् २०१९ को रिपोर्ट अनुसार भारतमा बस्दै श्रम गर्ने नेपालीहरूको संख्या ३० देखि ४० लाख छ। यद्यपि नेपाल–भारतको सीमा खुला भएको हुँदा मौसम परिवर्तनसँगै मौसमी कामको लागि नेपालीहरू भारतमा आउने, केही महिना श्रम गर्ने र फेरि नेपाल फर्कने क्रम चलिरहन्छ।
नेपालबाट भारतमा श्रम गर्ने नेपालीहरूको पञ्जीकरण गर्ने भन्दै स्थानीय सरकारले निर्णय गरे पनि त्यो कार्यान्यवन हुन सकेको छैन।
नेपालबाट श्रमको लागि भारत आउने नेपालीहरूसँग विवरणसहितका कागजात नहुनु र भारत सरकारले एकपछि अर्को गर्दै नियम कडा बनाउँदै जानुले श्रम गरेर आर्जन गरेको केही रकम पनि सुरक्षित र सहज रुपमा देश भित्र्याउन गाह्रो भइरहेको कामदारको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।