काठमाडौं– सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले कार्यव्यवस्था नियमावली संशोधन गर्दै मन्त्रालय फुटाएको हो।
अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था मन्त्रालय फरक फरक हुनेछन्।
मन्त्रालय फुटाएसँगै मन्त्रिपरिषद् हेरफेरको तयारी सुरु भएको छ। स्रोतका अनुसार फुटाइएको भूमिसुधार मन्त्रालयको जिम्मेवारी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई दिने तयारी छ।
त्यस्तै कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पनि रिक्त छ।
सरकारले केही दिनमै कानून मन्त्रालयमा नियुक्त तथा स्वास्थ्य मन्त्रीलाई मन्त्री बनाएर जिम्मेवारी हेरफेर गर्न लागेको छ।
स्वास्थ्य मन्त्रालयमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब नियुक्त भएपछि एमालेकी सांसद रहेकी अर्याललाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।
यसैगरी, सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले बोर्डको स्वामित्वमा रहेको सम्पूर्ण चल-अचल सम्पत्ति तथा दायित्व नेपाल सरकार अर्थ मन्त्रालयमा कायम गर्ने निर्णय गरेको हो।
यस्तै, 'अर्बान वाटर सप्लाइ एन्ड सानिटेसन' प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट १ सय ३० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न टोली गठन भएको छ। अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुखको नेतृत्वमा खानेपानी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका उपसचिव सदस्य रहेको वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।