काठमाडौं– आमरण अनसनरत डा गोविन्द केसीले उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने आफ्नो माग पूरा नभए अनसन जारी राख्ने बताएका छन्। २७ दिनदेखि अनसनरत डा केसीले सरकारले व्यापारीलाई पोस्ने गरी आफूलाई झुक्याएर सम्झौता गर्न लागेको बताएका छन्।
शिक्षण अस्पतालमा अनसनरत डा केसीले भने, ‘म मृत्युशय्यामा छु, व्यापारीमैत्री कानुन मान्दिन।’
स्रोतका अनुसार सम्झौताको बुँदामा आशयपत्र पाइसकेका बाहेकका मेडिकल कलेजलाई १० वर्षसम्म सम्बन्धन नदिने भाषा राखेर डा केसीलाई झुक्याउने प्रयास भएको थियो। सोही कारण वार्ता भाँडिएको हो।
बिहीबार सरकार र डा केसीपक्षबीच ९ बुँदे सहमति तय भए पनि एउटा बुँदाका कारण सहमति हुन सकेको छैन। सरकारले आशयपत्र दिइसकेका बाहेक मेडिकल कलेज खोल्न नपाउने गरी सम्झौता गर्न चाहेको थियो। तर, डा केसीले आशसयपत्र पाइसकेकालाई समेत सम्बन्धन दिन नहुने अडान राखेका छन्।
यद्यपि प्रधानमन्त्री निवास बालुवाटारमा डा केसी पक्षसँग सहमति जुटाउने प्रयास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।