काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले संसदीय सुनुवाइ विशेष समितिमा एनसेल र क्यासिनो लगायतका मुद्दामा अन्तरिम आदेश जारी गरिएको विषयमा जवाफ दिन अस्वीकार गरेका छन्।
‘एनसेल, क्यासिनो र अन्य अन्तरिम आदेश जारी भएका मुद्दाहरु सर्वोच्चमा हाल विचाराधीन छन्,’ जोशीले सांसदहरुको प्रश्नमा जवाफ दिँदै भने, ‘अदालतमा विचाराधीन विषय संसदमा समेत छलफल नहुने भएकाले यसमा कुनै टिप्पणी गर्दिनँ।’
सुनुवाइ समितिका अधिकांश सांसदले यी मुद्दामा अन्तरिम आदेश जारी हुने आधार र कारणबारे प्रश्न सोधेका थिए। करिब २ घन्टा लगाएर सांसदहरुले सोधेका प्रश्नको १० मिनेटमा जवाफ दिँदै जोशीले एनसेल, क्यासिनो जस्ता मुद्दाको विषयलाई पन्छाएका थिए।
‘विवादित विषयमा हामी यहाँ छलफल गर्दैनौं,’ जोशीले भने, ‘यहाँहरुले मलाई कठघरामा उभ्याउनु भएको हो भने म जवाफ दिन तयार छु, नत्र विचाराधीन विषयमा जवाफ दिन जरुरी छैन।’
निर्णय भएको मुद्दामा छलफल गर्न सकिन तर नभएको मुद्दामा छलफल गर्नु आवश्यक नहुने जोशीको धारणा थियो।
एनसेलको प्रश्न पूरक रुपमा पनि सांसदहरुले राखेपछि जोशीले आफूले कुनै पनि अन्तरिम आदेश जारी नगरेको भन्ने जवाफ दिए। जोशीले उपेन्द्र महतोको कम्पनी सिर्नजी नेपाल र अर्को संयुक्त इजलाशमा दुई वटा एनसेल सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गरेका थिए। तर, उनले सांसदहरुलाई आफू एनसेलको कुनै पनि मुद्दामा अन्तरिम आदेश जारी गर्न संलग्न नभएको जवाफ दिएका थिए ।
सांसदले उनले जारी गरेको अन्तरिम आदेशको कपी पेश गरेलगत्तै जोशीले यो मुद्दा अन्तिम नभएको भन्दै पन्छाए।
क्यासिनोहरुबारे भने उनले कुनै पनि जवाफ दिएनन्। पूरक प्रश्नमा समेत सांसदहरुले जिज्ञासा नराखेपछि जोशीले त्यसलाई पनि पन्छाए।
सांसदहरु योगेश भट्टराई ,निरुदेवी पाल, पार्वत गुरुङले एनसेलको अन्तरिम आदेशबारे प्रश्न सोधेका थिए।
‘यहाँ प्रश्न सोधिएका अधिकांश मुद्दामा मैले फैसला गरेको छैन,’ भन्दै जोशीले जवाफ दिएनन्।
संसदीय सुनुवाइको शुरुमै जोशीले आफ्नो १४ बुँदे अवधारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।