काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चालेका केही कदमका कारण मुलुकमा शान्ति र स्थिरता फैलाउने तत्वहरू त्रसित भएको बताएका छन्। बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)द्वारा आयोजित २२औं आधारभूत प्रशासन प्रशिक्षण समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘सरकारले मुलुकको हितका निम्ति सदाचार नीति ल्याउन लागेको हो,’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘तर, यो बनिनसक्दै अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ), गैरसरकारी संस्था (एनजीओ) र केही दूतावासमा त्रास छाएको छ।’
सरकारले सबै प्रकारका भ्रष्टाचार र अनियमितता न्युनीकरणका गर्न राष्ट्रिय सदाचार नीति ल्याउने तयारी अघि बढाएको छ। सरकारले अघि बढाएको यस्तो नीतिको मस्यौदामा धर्म परिर्वतनदेखि नेपालको सूचना सरकारलाई जानकारी नदिई विदेश पठाउने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दर्ता खारेजीसम्मको व्यवस्था छ।
मुलुकको राष्ट्रिय हितका सवालमा कसैसँग पनि सम्झौता नगर्ने प्रधानमन्त्री ओलीले प्रस्ट पारे। ‘यो गणतन्त्र हामीले लडेर ल्याएको हो, यो कसैले निगाहमा दिएको उपहार होइन,’ उनले भने, ‘तसर्थ राष्ट्रिय हितप्रति हामी प्रतिवद्ध छौं।’
सरकारका नीतिहरू कसैप्रति लक्षित नभएर राष्ट्रिय हितका पक्षमा रहने उनले स्पष्ट पारे। अन्ध र संकिर्ण दुवै खालका राष्ट्रवादले मुलुकको हित नगर्ने उनको भनाइ थियो।
यसैबीच उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नव–नियुक्त राजपत्र तृतिय श्रेणीका आधा दर्जनभन्दा बढी कर्मचारीलाई सम्मान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।