काठमाडौं– सर्वाेच्च अदालतको प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाई सुरु भएको छ। सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा उनको संसदीय सुनुवाई सुरु भएको हो।
संसदीय सुनुवाई बिशेष समितिमा उनीविरुद्ध ५ वटा उजुरी परेका छन्।
जिल्ला, उच्च र सर्वोच्चसम्मको कार्यसम्पादनका क्रममा जोशीले कार्यक्षमताको अभाव देखाएको भन्दै यस्ता उजुरी दर्ता भएका हुन्।
प्रधानन्याधीश पदका लागि चैत १३ मा न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको थियो। संवैधानिक परिषद्ले जोशीको नाम मात्र प्रधानन्यायाधीशका लागि सिफारिस गर्दै संसदीय सुनुवाई समितिमा पठाएको थियो। संसदीय सुनुवाई समिति निर्माण हुन ढिलाइ हुदाँ लामो समयदेखि जोशी कायममुकायम रहँदै आएका छन्।
असार २५ मा संसदीय सुनुवाई समितिका सदस्यले पूर्णता पाएसँगै जोशीको नाममा सुनुवाई प्रक्रिया सुरु भएको थियो। समितिले उनको नाममा सार्वजनिक सूचना जारी गर्दै उजुरी माग गरेको थियो।
सोही आधारमा उनीविरुद्ध ५ वटा उजुरी दर्ता भएको हो। ती उजुरीमाथि आज सुनुवाई समितिमा जोशीसँग जवाफ लिइने छ। जोशीको जवाफपछि समितिले उनलाई अनुमोदन गर्ने वा अस्वीकार गर्ने निर्णय लिनेछ। सुनुवाई समितिको कार्यविधि अनुसार २ तिहाईले अस्वीकार गरे मात्र उनको सिफारिस बदर हुनेछ।
परिषद्को सिफारिसमा संसदीय सुनुवाईपछि राष्ट्रपतिबाट प्रधानन्याधीश नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ।
चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत छन्। उनका कतिपय फैसलाहरु विवादमा परेका छन्।
संसदीय सुनुवाई समितिले उनको नियुक्ति सदर गरेपछि राष्ट्रपतिले प्रधानन्यायधीश नियुक्त गर्ने व्यवस्था छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।