काठमाडौं– सरकार र डा गोविन्द केसी पक्षबीच आजपछि छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच अनौपचारिक छलफल सुरु भएको हो।
मंगलबारको वार्ता निष्कर्ष नजिक पुगेपनि बुधबार भाँडिएको थियो। बिहीबार सहमति हुने सम्भावना रहेको सरकारी वार्ता टोलीका एक सदस्यले बताए।
डा गोविन्द केसीले १५औं अनसन थालेको २७ दिन पुगिसकेको छ। डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको चिकित्सकहरुले बताइरहँदा सरकारले गम्भीर नभएको आरोप लाग्दै आएको छ।
डा केसीको रक्तचाप पनि अत्यन्त कम छ। यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने डाक्टरहरु बताउँछन्।
बुधबार अबेरसम्म अनौपचारिक छलफल भएको थियो। तर, बिपक्षी दलको चलखेलका कारण वार्ता भाँडिएको आरोप प्रधानमन्त्रीका सहयोगीहरुले लगाएका छन्। डा केसीको मागअनुसार बिधेयकमा हुने संशोधनका बुँदाहरु मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने विषयमा बुधबार विवाद भएको थियो।
नेकपाका नेता सुवास नेम्वाङले सरकारको तर्फबाट वार्ता मिलाउने प्रयास गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।