काठमाडौं– विद्यार्थी र चिकित्सकहरुले आयोजना गरेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको बृहत र्यालीमा प्रहरीले अवरोध गरेको छ। अस्पतालबाट सुरु गर्ने भएको शान्तिपूर्ण र्यालीलार्इ प्रहरीले मुल गेटमा नै रोकेको हो।
सुरुवातमा विरोधस्वरूप प्रतिकात्मक रुपमा प्रयोग गरिएको चिन्ह प्रति आपत्ति जनाउँदै प्रहरीले पद यात्रा सुरु गर्न नदिएको हो।

प्रहरीले मुख्य गेटमै पद यात्रा रोकेपछि अस्पताल प्रवेश गर्ने एम्वुलेन्स तथा बिरामीलाई बाहिर निस्कन तथा प्रवेश गर्न समस्या परेको छ।
प्रहरी तालिम केन्द्र हुँदै बालुवाटार जान खोजेका विद्यार्थी तथा चिकित्सकहरुलाई प्रहरीले उक्त बाटो जान निषेध गरेपछि प्रदर्शनकारीहरु शिक्षण अस्पतालको मूल गेटमै धर्नामा बसेका छन्। पदयात्रामा अवरोध गरेपछि विद्यार्थीहरुले डा केसीको समर्थन तथा सरकारको विरुद्धमा नाराबाजी गरिरहेका छन्।
विद्यार्थी तथा चिकित्सकहरु बालुवाटारसम्म पदयात्रा गर्न प्रयासरत छन् भने प्रहरीले रोक्न खोजिरहेको छ। पदयात्रामा अवरोध गरेपछि मूल सडकमा विरोध भइरहेको छ।
धर्नाका कारण त्रिवि शिक्षण अस्पताल अगाडिको बाटोमा यातायात आवागमन दुवैतिरबाट ठप्प भएकाे छ।

सरकार डा केसीको माग पुरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप र्यालीको आयोजना गरिएको हो। र्याली टिचिङ अस्पतालबाट बालुवाटारसम्म जाने भनिएको थियो।
७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन्। तर सरकार उनको माग पुरा नगरी झन कठोर बन्दै गइरहेको छ।
लाइभ भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।