काठमाडौं– डा गोविन्द केसीले १५औं अनसन थालेको २७ दिन पुगिसकेको छ। डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको चिकित्सकहरुले बताइरहँदा सरकार भने मुकदर्शक बनिरहेको छ।
जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याउने भन्दै काठमाडौं ल्याएको पनि एक साता बितिसक्यो तर पनि डा केसीका माग सम्बोधन हुने गुञ्जायस देखिएको छैन।
सरकारले सुविधासम्पन्न अस्पतालमा ल्याएर राखेको भनेर ढुक्क बसिरहे पनि आजसम्म डा केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले मेडिकल टिम बनाएको छैन।
स्वतःस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेका छन्। ‘रातमा त झन् कोही पनि हुँदैनन्’, डा केसीको साथमा रहँदै आएका किशोर केसीले भने।
डा केसीको उपचारमा खटिएका आवासीयहरुका अनुसार डा केसीको स्वास्थ्य अवस्था नाजुक बनिसकेको छ। उनको शरिरमा सेतो रक्तकोशिका (डब्लुबिसी)को संख्या हालसम्मकै न्यून भएको छ।
‘रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ,’ डा लक्ष्मण भुसालले भने, ‘रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने अवस्था आउन सक्छ।’
डा केसीको रक्तचाप पनि अत्यन्त कम छ। यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने डाक्टरहरु बताउँछन्।
डा भुसालले डा केसीले बिस्तारै होस गुमाउँदै गएको पनि बताए। उनले केहीदिन यही अवस्था रहिरहे, दिमागमा गम्भीर असर पर्न गई अचेत हुने, छारे आउने र कोमामा जाने अवस्था आउन सक्ने बताए।
चिकित्सकहरुका अनुसार यो अवस्थाको बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर डा केसीले यसअघि नै आफू होसमा रहुन्जेल आइसियूमा नजाने बताइसकेका छन्।
औपचारिक वार्ता अनिश्चित
यता डा केसीका मागको सम्बोधनका लागि भन्दै बुधबार पनि औपचारिक र अनौपचारिक रुपमा वार्ताहरु भएपनि निष्कर्ष निक्लिन सकेन। सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच बुधबार २ पटकसम्मको वार्ता असफल भएको हो।
सोसँगै दुवै पक्षबीचका औपचारिक वार्ता अनिश्चित बनेको छ। डा केसी पक्षका वार्ता टोली संयोजक डा अभिषेकराज सिंहले आजका लागि हालसम्म वार्ताका लागि नबोलाइएको बताए। ‘मध्यरातसम्म छलफल गर्दा पनि वार्ता मुख्य मुद्दामा प्रवेश गर्न सकेन। आजका लागि भने सरकारी पक्षबाट हालसम्म डाकिएको छैन।’
सरकारी पक्षले डा केसीले उठाएका प्रमुख मागका विषयमा कुनै पनि कुरा गर्न नचाहेपछि वार्ता असफल भएको डा सिंहले बताए।
डा केसीले विधेयकका २२ वटा बुँदामा संशोधन गर्नुपर्ने माग राखेका छन्। तर, सरकारी टोलीले उक्त विषयमा प्रवेश नै गर्न नचाहेपछि वार्ता बिना निष्कर्ष टुंगिएको डा सिंहले दावी गरे। सरकारी पक्षले भने मागहरु संविधानको मर्म विपरित रहेकाले छलफलले गति लिन नसकेको बताएको छ।
यसअघि डा केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा धर्मकान्त बास्कोटा र डा दिव्यासिंह साहबीच बालुवाटारमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।