काठमाडौं– ज्याला नपाएको भन्दै विरोधमा उत्रिएका आप्रवासी कामदारलाई कतारले देश निकाला गरेको छ। बीबीसीका अनुसार निकालेनमा कम्तिमा पनि ६० कामदार रहेका छन्।
उनीहरुमध्ये नेपाली कामदार पनि रहेको बताइएको छ। कम्तिमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालय सामु अगस्ट १४ मा र्याली गरेका थिए। तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको गुनासो छ।
लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ । तर निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन । इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बङ्ग्लादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिक रहेका छन्। कतारको सरकारले निकालिने कामदारहरूले ‘सुरक्षा कानुन’ तोडेको बताएको छ।
सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाएपछि रङ्गशाला तथा अन्य पूर्वाधार निर्माण थालिएको थियो। कतारले आउँदो नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ।
अल बन्दारी इन्टरनेश्नल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ। कतारले अल बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको बताएको छ।
यस्तै कतार सरकारले विलम्ब गरिएका सबै ज्याला तथा सुविधाहरू मर्का परेका श्रमिकहरूलाई तिरिने बताएको छ। तलबज्याला तिरिसक्न उसलाई दिइएको समयसीमा नाघेका कारण अब थप कारबाही हुने बताइएको छ।
पछिल्लो घटनालाई श्रमअधिकारबारे विज्ञता हासिल गरेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाले सामुन्ने ल्याइदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।