काठमाडौं– नेपाली सेनाले राष्ट्रसंघिय शान्ति मिसनमा थप अवसर पाएको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिक(कार)मा सेनाको नयाँ बटालियन पठाउने अन्तिम तयारी छ।
कारमा पहिलेदेखि नै एक सय ३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रुपमा कार्यरत छन्। ६ सय सैनिकहरु बटालियनका रुपमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा जान लागेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए। ‘आबश्यक बन्दोबस्तीका सामानसहित केही सैनिकहरु त्यहाँ पुगिसकेका छन्,’ भण्डारीले भने,‘थप सैनिक उताबाट माग भएलगत्तै पठाउँछौं, उनीहरु तयारी अवस्थामा छन्।’
कारमा नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा हरेक वर्ष थप करिब सय सैनिकले अवसर पाउँनेछन्।
हाल द्वन्द्वग्रस्त विभिन्न ११ देशमा नेपाली सेना राष्ट्रसंघ अन्र्तगत खटिएको छ।
सिरिया, मोरक्को, माली, कंगो, लेबनान, इराक, लिबिया, इजरायल, सुडान, दक्षिण सुडान र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नेपाली सेना खटिएको छ। ती देशहरुमा ५ हजार ३३ सैनिक खटिएका छन्।
६ सय थप सैनिक एक महिनाभित्रै उड्ने सम्भावना छ। नेपाली सेना सन् १९५८ देखि राष्ट्रसंघीय शान्ति मिसनमा खटिदै आएको छ।
शान्ति मिसनमा सर्वाधिक योगदान दिने(शान्ति सैनिक÷प्रहरीको संख्याको आधार) देशमध्ये नेपाल छैंटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।