काठमाडौं– २६ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता सुरु भएको छ। सरकारी वार्ता टोली र डा केसी पक्षबीच वार्ता शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो।
आजको वार्तामा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शैयाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका २५ वटा विषयमा छलफल हुनेछ।
यस्तै, विधेयकबाट हटाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका कार्यक्रमहरु समेत थप गर्ने विषयमा पनि छलफल केन्द्रित हुनेछ।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन्।
यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि छन्।
मंगलबार पनि वार्ता भएको थियो। वार्ता टोलीलाई प्रधानमन्त्रीले थप म्यान्डेट दिएको स्रोत बताउँछ।
दिउँसो करिब एक घन्टा वार्ता स्थगित भएपछि साढे ४ बजेबाट फेरि वार्ता सुचारु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।