काठमाडौं– आपत्तिजनक अभिव्यक्ति दिने अस्पताल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा आजको बैठक अवरुद्ध गरेको छ।
राष्ट्रियसभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बंगलादेशमा अध्ययनरत छात्राको बारेमा गरेको टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तमाङले राजिनामा दिएको तर व्यवसायी प्रसाईंलाई कानुनी कारबाही नभएको बताए।
‘अनसनरत डा गोविन्द केसीको माग सम्वोधन र प्रसाईंमाथि कानुनी कारबाही नभएसम्म यो सदन चल्दैन।’, पाण्डेले भने, ‘सरकार दुई तिहाईको दम्भ छाडेर हिजोदेखि वार्तामा आएको कुरा सकारात्मक छ तर यसलाई थप दबाव दिन जरुरी छ।’
उनले सरकारले यसअघि जारी गरेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई सदनबाट पास गर्नुको सट्टा तोडमोड गर्ने काम भएकोले नै डा केसीले १५औं पटक अनसन बस्नु परेको र आज २६ दिन पुगेको स्मरण गराए।
बगंलादेशमा अध्ययन गर्ने छात्रा मात्र नभई अभिभावक समेतलाई असर पर्ने गरी अभिव्यक्ति दिएका ‘अस्पताल व्यवसायी प्रसाईंलाई किन छाडा छोडिएको’ भन्दै उनले सरकारसँग जवाफ माग गरे। सांसद पाण्डेले जुम्ला घटनाको निस्पक्ष छानबिनको समेत माग गरे।
प्रतिपक्षको अवरोधपछि राष्ट्रियसभाको बैठक आगामी साउन १६ गते ११ बजे बस्नेगरी स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।