पोर्चुगल– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका आन्तरिक मामिलामा विगतमा हुने गरेका हस्तक्षेपको अन्त्य गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढेको बताएका छन्। दुबै देशसँग विश्वासको नयाँ आधार सिर्जना भएको उनको भनाई छ।
छिमेकी मुलुकसँगको सम्बन्ध सुधारसँगै जलमार्ग, रेलमार्ग र कृषिमा साझेदार जस्ता सहयोगका नयाँ योजना पहिल्याइएको उनले बताए। । ‘अराजकताको अन्त्य गर्दै मुलुक विधिको बाटोबाट अघि बढेको छ, वर्तमान सरकारले विधिको शासन लागू गर्न खोजेको छ,’उनले भने।
प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताए। उनले भने,–“जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो, वर्तमान सरकार सोही जनादेशअनुरुप नै मुलुकको समृद्धि र विकासमा लागिपरेको छ ।”
आगामी १२ वर्ष्भित्रमा मध्यम आय भएको मुलुकका रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार अघि बढेको ज्ञवालीको भनाई छ।
अन्तर्राष्ट्रिय लगानी भित्राउनका लागि सोही अनुकूलको वातावरण निर्माणमा सरकार लागेको छ ज्ञवालीले भने–‘छिमेकी मुलुक, विकासमा साझेदार, श्रम गन्तव्य मुलुक र सयुंक्त राष्ट्रसंघलगायत बहुपक्षीय सयन्त्रमार्फत् अन्तर्रा्ष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ सरकार अघि बढेको छ।’
विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ भन्दै मर्यादित ठाउँमा जुलुश निकालौं भन्दा अधिनायकवाद नहुने उनको कथन थियो।
ज्ञवालीले लोकतन्त्र मर्यादित नभए लोकतन्त्रप्रति जनताको आस्था टुट्दै जाने धारणा व्यक्त गरे।
आमरण अनशनरत डा गोविन्द केसीका मागका विषयमा सरकार गम्भीर रहेको उनको भनाई छ। चिकित्सा शिक्षामा देखिएका विकृति र विसङ्गतिको अन्त्यका लागि अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग बनाएर समाधान गर्न लागिएको मन्त्री ज्ञवालीले प्रस्ट पारे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।