काठमाडौं– डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा नेता सुवास नेम्वाङ र केदारभक्त माथेमाबीच छलफल भइरहेको हो।
डा केसीले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २५ बुँदामा संशोधन गर्नुपर्ने बताएपछि ती बुँदाहरुमा छलफल चलिरहेको हो। विधेयकमा ती बुँदाहरुलाई कसरी समावेश गर्दै डा केसीको अनसन तोडाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री ओली आफैं सक्रिय रुपमा लागिरहेको स्रोत बताउँछ।
डा केसीसँगको छलफलपछि उनका तर्फका वार्ता टोलीले डा केसीका माग अनुसारका बुँदा नेम्वाङलाई उपलब्ध गराएका थिए। नेम्वाङले सोही विषयमा प्रधानमन्त्री र प्रचण्डसँग छलफल अगाडि बढाएका हुन्।
बालुवाटारको छलफलपछि सरकारी वार्ता टोली र डा केसी पक्षबीच आज पुनः वार्ता हुनेछ।
डा केसी पक्षका वार्ता समितिका संयोजक डा अभिषेकराज सिंहले आफ्नो तर्फबाट सबै आन्तरिक तयारी सकिएको जानकारी दिए।
डा केसीका तर्फबाट नेम्वाङलाई बुझाएको विधेयकको संशोधन मस्यौदामा वार्तामा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शैय्या अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।