काठमाडौं– ‘असारे विकास’ले आर्थिक बिकृती बढाएपछि सरकारले यसमा कडाई सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन पालना भएमा अबदेखि असार महिनामा विकास निर्माणका गतिविधि हुने छैनन्।
भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष (आव) २०७५÷७६ देखि नै लागू हुनेगरी असारमा विकास निर्माणका काम नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। धेरै पूर्वाधार निर्माणका काम भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत पर्दछन्। मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जेठ मसान्तदेखि नै विकास निर्माणका गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए।
‘विकास निर्माणको अधिकांश गतिविधि असार लागेपछि हुने, तर हतारमा झारा टार्नेगरी काम हुँदा त्यसको गुणस्तर नहुने भएपछि जेठपछि यस्ता काम रोक्न निर्देशन दिएका हौं,’ सचिव अधिकारीले भने ।
यद्यपि, यसको लिखित निर्देशन भने कार्यान्वयन इकाइहरूलाई पठाइएको छैन । ‘लिखित नभएपनि निर्देशनका रुपमा कार्यान्वयन निकायहरूलाई मन्त्रालयले यसको जानकारी गराइसकेको छ,’ सचिव अधिकारीले भने ।
सरकारको यस्तो निर्देशन कार्यान्वयन भए असारे विकास रोकिने अपेक्षा छ। खासगरी सडक ‘असारे विकास’को विकृति छ। आर्थिक वर्षको अन्तिममा कमसल काम गरेर त्यसको मूल्याङकन समेत नगरी भुक्तानी दिने गरिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असारमा १ खर्ब ५ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको छ। खर्च भएको यो रकम असारमामात्रै गरिएको विकास गतिविधिको नभए पनि विकास निर्माणका अधिकांश गतिविधि असारमै हुँदै आएका छन् ।
आर्थिक कार्यविधिसम्बन्धी व्यवस्थामा असारमा २० प्रतिशतभन्दा बढी रकम खर्च गर्न नपाउने व्यवस्था छ।
आर्थिक हिनामिना गर्न पाइने दाउमा आर्थिक वर्षको अन्तिम महिनामा खर्च गर्ने परिपाटी वर्षौंदेखि रहँदै आएको छ।
यसअघि महालेखापरीक्षक कार्यालय, विभिन्न संसदिय समिति लगायतले पनि असारमा हुने विकास निर्माणका गतिविधि रोक्न पटक – पटक निर्देशन दिँदै आएका छन्।
‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।