काठमाडौं– उत्पादित चिनी नबिकेको भन्दै उद्योगीहरुले किसानबाट खरिद गरेको उखुको मूल्य घटाउनुपर्ने माग गरेका छन्। विदेशी चिनीको आयातले स्वदेशी उत्पादनको मूल्य सस्तो हुँदा बिक्री हुन नसकेको दावी गर्दै किसानबाट किनेको उखुको भुक्तानी दिन नसकेको उद्योगीको दाबी छ।
त्यसका लागि किसानबाट किनेको उखुको मूल्य घटाउनुपर्ने माग उनीहरूको छ।
उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार अहिले चिनी उद्योगीले उखु उत्पादकलाई तिर्नुपर्ने बक्यौता करिब साढे ६ अर्ब रुपैयाँ छ।
आयातित चिनीका कारण उत्पादित चिनी बिक्री हुन नसकेको उद्योगीको भनाई छ। चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले गत सिजनमा १ लाख ७८ हजार मेट्रिक टन चिनी उत्पादन भएकामा १ लाख २४ हजार मेट्रिक टन चिनी अझै मौज्दातमा रहेको बताए ‘हामीले उत्पादन गरेको ३० प्रतिशत चिनीमात्र बिक्री भएको छ,’ उनले भने । भारत र पाकिस्तानबाट सस्तो मूल्यमा चिनी आयात हुँदा स्वदेशी चिनी बिक्री हुन नसकेको उनी बताउँछन्। गत आर्थिक वर्षमा मात्रै २ लाख १० हजार मेट्रिक टन चिनी आयात भएको उनको भनाइ छ।
नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा त्यसको अधिकांश हिस्सा आयात हुँदा स्वदेशी उद्योग मारमा परेको गुनासो संघको छ।
‘अझै पनि चिनी आयात हुने क्रम रोकिएको छैन,’ संघका अध्यक्ष अग्रवालले भने ।
उखु बिक्री नहुँदा किसानको भुक्तानी दिन नसकेको संघको भनाइ छ। संघले किसानबाट किनेको उखुको मूल्यमा घटाउन पनि सरकार समक्ष माग गरेको छ।
गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टिल ५३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । गत ४ वैशाखमा उक्त मूल्य प्रतिक्विन्टिल ५३६ रुपैयाँ ५६ पैसा कायम गरियो ।
यही दरअनुसार किसानले भुक्तानी पाउँदै आएका छन् ।
पछिल्लो समय बजेट भाषणमार्फत चिनीमा दिइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको व्यवस्था हटाइएपछि सूचना निकालेर उद्योगीले किसानलाई प्रतिक्विन्टिल ४ सय ६५ रुपैयाँका दरले उखुको मूल्य भुक्तानी गरेका छन । भ्याट फिर्ता भएपछि २० दिन जति उद्योगीले किसानको उखुको भुक्तानी नै रोकेका थिए ।
चिनीको बिक्री स्वात्तै घटेपछि सरकारले तोकेको भाउमा किसानलाई उखुको मूल्य भुक्तानी गर्न नसकिने माग उद्योगीले गरेका छन्।
यता उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले भने सरकारले तोकेको मूल्यका आधारमा उखुको भुक्तानी हुनैपर्ने जिकिर गरेका छन् । ‘उखुको मूल्य घटाउनेतर्फ कुनै पनि हालतमा जान सकिँदैन,’ उनले भने ।
अहिलेकै अवस्था कायम रहे आगामी सिजनमा उद्योग सञ्चालन गर्न नसकिने चेतावनी संघले दिएको छ । ‘गत वर्ष उत्पादन भएको चिनी नै बिक्री नभएको अवस्थामा आगामी सिजनमा उद्योग चलाउने कि नचलाउने भन्ने अन्योल भएको छ,’ संघका अध्यक्ष अग्रवालले भने । आयातमा पूर्ण प्रतिबन्ध लगाउन समेत संघले माग गरेको छ । ‘होइन भने निर्धारित दरमा सरकारले नै हाम्रो उत्पादन किनिदिनुपर्छ,’ उनले भने।
भ्याट फिर्तापछि देखिएको समस्या समाधान गर्न केही दिनअघि आन्तरिक राजस्व विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्थ, उद्योग, कृषि मन्त्रालयका प्रतिनिधि सम्मिलित सात सदस्यीय समिति नै गठन गरिएको छ।
किसानहरुलाई समयमा भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्र्ने चेतावनी गृह मन्त्रालयले दिएको छ। गत महिना गृहले भुक्तानी नदिनेलाई कारबाही गर्न पत्राचार समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।