काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत वैशाखदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविकिरण अधिकारी नियुक्त भएका छन्।
गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संघद्वारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई संघको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बताए।
'नवनियुक्त सीईओले संघलाई नेपालको सच्चा साझेदार बनाउने गरी संस्थालाई एउटा उचाईमा पुराउनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं,' आचार्यले भने। त्यसै गरी संघका महासचिव गौरीराज जोशीले पनि संस्थाको नीति, नियम र विधान अनुरुप नेपाल र गैरआवासीय नेपालीहरुको हितमा काम गर्न सुझाव दिए।
उक्त अवसरमा बोल्दै नवनियुक्त सीईओ अधिकारीले संघको लक्षलाई ध्यानमा राख्दै आफूले काम गर्ने बताए। 'समृद्ध एनआरएनको परिकल्पनालाई साकार पार्न एउटा इँटा थप्न मैले प्रयास गर्ने छु,' उनले भने।
संघको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ४ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।
सीईओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ रहेका थिए। यस्तै विज्ञको रुपमा भीम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो।
तत्कालीन सीईओ राजेश राणाको कार्यकाल पूरा भएपछि उक्त पद रिक्त रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।