लण्डन-बेलायतको हल विश्वविद्यालयले प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ। सुवेदीलाई सन् २०२० मा उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडका कारण गत दुई वर्षदेखि हुन नसकेको दीक्षान्त समारोह अहिले सम्पन्न भएको हो। उक्त विश्वविद्यालयकी कूलपति व्यारोनेस भर्जिनिया बटमलिले सुवेदीलाई उपाधि प्रदान गरिन्। उनले प्रा. सुवेदीको सम्मानमा एक रात्री भोजको आयोजना पनि गरेकी थिइन्।
प्रा. सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भै कानूनमा स्नातकोत्तर गरेका थिए। हालै मात्र उक्त विश्वविद्यालयले प्रा. सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बाँच्न पाउने विषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार पनि स्थापना गरेको थियो।
यसअघि विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो।
अक्सफोर्ड विश्वविद्यालयले प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा मानवअधिकार र विद्यावारिधिसम्बन्धी दुईवटा वार्षिक पुरस्कार पनि स्थापना गरेको छ । प्रा. सुवेदी अहिले बेलायतकै लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानून विषयमा प्राध्यापन गर्छन्। उनका थुप्रै पुस्तक तथा जर्नल लेखहरु प्रकाशित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।