काठमाडौं- २०७८ माघ ८ गते अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले एक सर्कुलर जारी गर्दै भनेका थिए- 'माघ २७ को बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्युरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीको निर्वाचन गर्नेछ।'
पुस १९ को केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत रुपमा अध्यक्षमा दोहोरिएका प्रचण्डले तय गरेको मितिमा पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन सकेनन्। त्यसको कारण हो, पदाधिकारीका लागि पार्टीभित्र तीव्र प्रतिष्पर्धा। त्यसमा पनि सबैभन्दा पेचिलो बनेको थियो, महासचिव पद। उक्त पदमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेललगायतले आकांक्षा राखेका थिए। आकांक्षीमध्ये सबैभन्दा तीव्र प्रतिष्पर्धा पुन र शर्माबीच थियो र छ।
पदाधिकारी र स्थायी कमिटीविहीन माओवादीको तीन दिनदेखि जारी केन्द्रीय कमिटीले टुंगो लगाउने तयारी गरेको छ। मंगलबारका लागि केन्द्रीय कमिटी स्थगित गरेर बसेको पूर्व स्थायी कमिटी सदस्य र ईञ्चार्जहरुको बैठकले बुधबार पदाधिकारी र स्थायी कमिटी घोषणा गर्ने सहमति गरेको छ।
अध्यक्ष प्रचण्डले हलमा घोषणा गरेर ती नाम अनुमोदन गर्ने एमालेको 'सौराह मोडल' आत्मसाथ गरेको छ। अन्य पदाधिकारी तपसिलका विषय छन्। फेरि पनि चासोको विषय बनेको छ- प्रचण्डले कसलाई बनाउनलान् महासचिव?
महासचिवको महाभिडन्त
माओवादी केन्द्रको आगामी महासचिव एउटा मात्रै होइन। प्रचण्डको उत्तराधिकारी समेत हो। प्रचण्डपछिको बागडोर सम्हाल्ने नेताका रुपमा देखिने भएकाले पनि महासचिवमा महाभिडन्त भइरहेको हो।
त्यो भिडन्त माओवादी जनमुक्ति सेनाका पूर्वकमाण्डरहरु शर्मा र पुनबीच छ। माओवादी युद्धको सैन्य कमाण्डर नै माओवादी केन्द्रको आगामी कमान्डर हुनुपर्ने आवाज भने पहिलेदेखि नै उठ्दै आएको छ। त्यसले पनि दुईमध्ये प्रचण्डले एक रोज्ने सम्भावना बलियो देखिएको हो।
पछिल्ला वर्षमा केही सुस्त बनेका पुनको राजनीतिक छलाङ भने सुरुदेखि नै उच्च थियो। पुन २०५५ मा पुन माओवादी केन्द्रीय सदस्य बनेका थिए भने शर्मा २०५६ सालमा बनेका हुन्। ३६ वर्षकै उम्मेरमा सांसद बनेका वर्षमान ३९ वर्षको उमेरमा शान्तिमन्त्री भए। जनार्दन शर्माले हाल पाएको अर्थमन्त्रीको जिम्मेवारी उनले ४० वर्षकै उमेरमा पाएका थिए।
पार्टीमा पनि पुन माओवादी खुला राजनीतिमा आएपछि बनेको ११ सदस्यीय सचिवालय सदस्यमा परे। जनआन्दोलनपछि बनेको अन्तरिम संसद्मा माओवादी संसदीय दलका सचेतकका रुपमा शर्माले जिम्मेवारी पाए।
वर्षमान पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भए भने शर्मा रुकुमबाट। २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पुन मोरङबाट उम्मेदवार बनेर पराजित भए भने शर्मा रूकुमबाट निर्वाचित भए। सांसद नभएका पुनले भने पार्टीमा भने फेरि बाजी मारे। २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले पुनलाई पार्टी सचिव बनायो। शर्मा स्थायी कमिटी सदस्यमै सिमित रहे।
सांसद बन्नुको लाभ शर्मालाई २०७३ पछि मिल्न थाल्यो। २०७३ साउनमा प्रचण्ड प्रधानमन्त्री बन्दा शर्मा उर्जा मन्त्री भए। कुलमान घिसिङलाई महाप्रबन्धक नियुक्त भएपछि लोडसेडिङ हट्यो। जसको राजनीतिक जस शर्माले पाए। त्यही प्रभावले २०७४ जेठमा शेरबहादुर देउवा नेतृत्वमा गठन भएको सरकारमा उनी गृहमन्त्री बनाइए। पुन भने ओझेल परेजस्तो भए।
२०७४ को निर्वाचनका लागि शर्मालाई एमालेसँग तालमेलका लागि वार्ता गर्न खटाइयो भने पुनलाई कांग्रेससँग। पार्टी एकता गर्ने सहमतिसहित तालमेल एमालेसँग गर्ने निर्णय भयो। माओवादीमा त्यतिबेला चर्चा थियो, 'अबको नेतृत्वका लागि शर्माले ४० नम्बर ल्याए, पुनले ३०।' अर्थात् एमालेले ४० प्रतिशत हिस्सा दिनेगरी तालमेल गर्ने प्रस्ताव शर्मामार्फत् पठाइएको थियो भने कांग्रेसले पुनलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने।
यसले नेकपाकालमा शर्माको राजनीतिक प्रभाव बढ्यो र कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाए। एकता प्रक्रियामा प्रचण्डसँगै माओवादीका तर्फबाट शर्माले हस्ताक्षर गरेका छन्। एमालेबाट केपी शर्मा ओलीसँगै विष्णु पौडेलको हस्ताक्षर थियो।
परिस्थितिले मारेको पल्टी
प्रचण्डले तय गरेको मिति अर्थात् गत माघभित्रै पदाधिकारीको घोषणा गर्दा समय अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माको पक्षमा थियो। धेरैले त्यो समय अनुमान गरेका थिए- प्रचण्डले अब जनार्दन शर्मालाई नै महासचिव बनाउँछन्। त्यसको मुख्य कारण थियो, पुन बिरामी थिए र चीनमा उपचार गराइरहेका थिए। विवादमा फसिनसकेका शर्मालाई अर्थमन्त्रालयको जिम्मेवारीले कार्यकर्तामाझ प्रभावशालीसमेत बनाएको थियो।
त्यो समय जनार्दननिकट नेताहरुले पुनको स्वास्थ्यले साथ नदिने भन्दै महासचिव बनाउन नहुने लबिङ गरेका थिए। पुनलाई उपाध्यक्ष बनाएर शर्मालाई महासचिव बनाउँदा अध्यक्षपछि सक्रियता आवश्यक हुने महासचिव पदले न्याय पाउने उनीहरुको तर्क थियो। आफ्नो उपस्थितिमा पार्टीले दिएको उपयुक्त जिम्मेवारी स्वीकार्ने तर अनुपस्थितिमा निर्णय हुन नहुने अडान पुनले राखिदिए। सुरुमा पुनको स्वास्थ्य र त्यसपछि निर्वाचनका कारण पदाधिकारी छनोट प्रक्रिया सर्दै गयो।
चीनमा लामो समय उपचार गरेर फर्केका पुनले स्वास्थ्यलाभ गरेका छन् र पहिलेकै अवस्थामा फर्किँदैछन्। बिरामकै कारण महासचिवको प्रतिष्पर्धामा कमजोर बनेको पुनको पक्षमा समयले पल्टी मारेको छ। अर्थमन्त्री रहेका शर्माबाट प्राप्त जिम्मेवारी नै 'खोस्नुपर्ने' माग भइरहेका बेला अध्यक्ष प्रचण्डले महासचिव बनाएर बदनामी नकमाउनेमा पुनपक्ष ढुक्क छ।
विकल्पमा महरा, पम्फा र गुरुङ
महासचिव पुन र शर्माबीचको आन्तरिक प्रतिष्पर्धामै सिमित छैन। यही बीचमे दुवैले बाहिर समेत एकअर्काविरुद्ध बोल्न थालेका छन्। महासचिवमा एकले अर्कोलाई रोक्न खोजेको आशंकाका कारण सञ्चारमाध्यममासमेत उनीहरुले एकअर्काविरुद्ध तीतो पोखेका हुन्। राष्ट्र बैंका महानिर्देशक प्रकरणमा उनीहरुको टिप्पणी र प्रतिटिप्पणी नै चलेको थियो।
प्रचण्ड एकलाई च्यापेर अर्कोलाई पाखा लगाएजस्तो देखिनेगरी निर्णय गर्न नसक्ने माओवादीका नेताहरु बताउँछन्। माओवादी केन्द्रका एक नेताकाअनुसार एउटालाई महासचिव बनाउँदा अर्को रिसाउने देखिएकाले विकल्प समेत खोजी हुनसक्ने देखिएको छ।
यसअघि पार्टी महासचिव भइसकेका कृष्णबहादुर महरा फेरि त्यही पदमा ल्याउने विकल्प प्रचण्डसँग छ। अहिले प्रवक्ता रहेका उनलाई महासचिव बनाएर पुन र शर्मालाई उपमहासचिव बनाउने सम्भावना समेत कायम रहेको माओवादीका नेताहरु बताउँछन्। महासचिवकै लागि अर्को विकल्प पम्फा भूसाल हुन्।
शर्मा र पुनलाई उपाध्यक्षमा उकालेर भूसाललाई महासचिव बनाउँदा राम्रो सन्देश जाने भन्दै केही नेताहरुले सुझाव समेत दिएका छन्। उनीहरु बाहेक देव गुरुङ महासचिवका आकांक्षी छन्। त्यसैगरी पूर्व कोषाध्यक्ष हरिबोल गजुरेल, नेताहरु गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले समेत महासचिव आकांक्षा गरेका छन्।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी
माओवादीको वरिष्ठ उपाध्यक्ष भने नारायणकाजी श्रेष्ठ बन्ने लगभग निश्चित छ। २०६५ सालमा तत्कालीन नेकपा माओवादी र नेकपा एकताकेन्द्र मशालबीच एकता हुँदा श्रेष्ठ उपाध्यक्ष पदको जिम्मेवारीमा थिए। त्यतिबेला उपाध्यक्षमा श्रेष्ठसँग बाबुराम भट्टराई र मोहन वैद्य पनि हुन्। अहिले वैद्य र भट्टराई दुवैले पार्टी छाडिसकेका छन्। त्यसैले उनले आफूलाई वरिष्ठ दाबी गर्नु स्वभाविक देखिन्छ।
अन्य उपाध्यक्षका लागि भने धेरै नेताहरुको दाबी छ। महासचिव नबन्ने अवस्थामा महरा र भूसाल पनि उपाध्यक्ष नै बन्नेछन्। महासचिवका आकांक्षी गुरुङ, गजुरेल मातृका यादव, गणेश शाहलगायत उपाध्यक्षका दाबेदार हुन्।
माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।