अमेरिका- प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीहरुको ज्ञान, सिप, अनुभव, क्षमता र दक्षतालाई नेपालसँग जोड्न आवश्यक रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलनलाई एक शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री देउवाले उक्त साधारण सभा तथा विज्ञ सम्मेलनको निष्कर्ष अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई मात्र नभइ नेपाल र नेपालीहरुकालागि उपयोगी हुने विश्वास व्यक्त गरे।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) को ११ औं वार्षिक साधारण सभा अमेरिकाको नर्थ क्यारोलिनास्थित -याले मेरिएट सिटी सेन्टरमा आइतबार शुरु भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रवासी नेपालीहरु नेपालको विकास र समृद्धिका लागि प्रतिवद्ध रहेको बताए। ‘प्रवासी नेपालीहरु नेपालको विकास र समृद्धिका लागि प्रतिबद्ध छन्। नेपाललाई आफ्नो विकासका लागि विदेशमा रहेका आफ्ना नागरिकको सहयोग चाहिन्छ र त्यसका लागि नेपाल र विदेशमा रहेका सबै नेपालीले हात मिलाउनुपर्छ,’ उनले भने।
कार्यक्रममा बोल्दै एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नेपालमा रहेका ‘असमान’ कानुनले गैरआवासीय नेपालीलाई नेपालको नागरिकताबाट वञ्चित गरेको गुनासो गरे। ‘हामी नेपाली डायस्पोरा विदेशी राहदानी लिन्छौँ, तर नेपाल घुम्न जाँदा पर्यटक भिसाका लागि आवेदन दिन बाध्य हुन्छौँ,’ उनले भने। नेपालमा रहेका नेपालीलाई नेपालका विमानस्थलमा असमान व्यवहार गर्ने नीति परिवर्तन गर्न उनले सरकारसँग आग्रह गरे।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपालको संविधानले प्रवासी नेपालीलाई एनआरएनए नागरिकताको प्रत्याभूति गरेको भए पनि त्यसका लागि कुनै कानुन नभएको बताए। ‘सरकारले एनआरएनएको नागरिकताको समस्या छिट्टै समाधान गर्नुपर्छ,’ उनले भने। आचार्यले विदेशमा रहेका नेपालीलाई नेपालमा डलर खाता खोल्न आग्रह गरे।
‘अमेरिकामा रहेका नेपाली समुदायसंग नेपालमा अर्बौं लगानी गर्ने क्षमता छ, तर सरकारले लगानीको मामिलामा गैरआवासीय नेपालीलाइ नेपालीसरह समान व्यवहार गर्नुपर्छ,’ उनले भने।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. केशव पौडेलले सरकारले आप्रवासी नेपालीको नागरिकताको समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताए।
राष्ट्रिय ज्ञान सम्मेलन
कार्यक्रमको दोस्रो दिन सोमबार एनआरएनए एनसीसी अमेरिकाले राष्ट्रिय ज्ञान सम्मेलन आयोजना गर्दैछ, जहाँ नेपाल र संयुक्त राज्य अमेरिका विज्ञ र पेशाकर्मीहरूले आफ्नो विशेषज्ञता र अनुभव साटासाट गर्नेछन्।
एनआरएनए एनसीसी अमेरिकाको विज्ञान, प्रविधि र आविष्कार समिति (एसटीआईसी) अध्यक्ष डा. माधव पाण्डेले ज्ञान सम्मेलनको उद्घाटन सत्रलाई युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्रोफेसर जेमस एल पिसओक, त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, राष्टिय विज्ञान प्रविधि प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले संवोधन गर्ने जानकारी दिए।
सम्मेलनमा ‘तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता’, ‘दिगो कृषि प्राकृतिक स्रोत व्यवस्थापन’, ‘इन्जिनियरिङ र पूर्वाधार’, ‘नेपाल अमेरिका सम्बन्धः ७५ वर्षको मित्रताको प्रतिबिम्ब’, ‘सामाजिक विज्ञान र परोपकार’, ‘व्यवसाय र उद्यमशीलता’, ‘आधारभूत विज्ञान’, ‘महिलाका मुद्दाहरू’, ‘मास मिडिया र सोशल मिडिया’, ‘नेपाली संस्कृति र सम्पदा’, ‘स्टेममा युवाहरू’ लगायतका विषयमा छलफल हुनेछ।
सबै सत्रहरू एनआरएनए एनसीसीको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने र इच्छुक सहभागीहरू जुममार्फत पनि छलफलमा सहभागी हुन सक्ने छन्।
तस्बिरहरु: इनेप्लिज डट कम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।