काठमाडौँ-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिले नै गैरआवासीय नेपालीहरुलाई मतदानमा सहभागी गराउन नसकिने स्पष्ट पारेका छन्। उनले विदेशमा रहेका नेपालीहरुलाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी गराउन नसकिने स्पष्ट पारे। यसका लागि कानुन नै नभएको उनकाे दाबी छ।
आगामी आर्थिक वर्षमा भने केही दूतावासमार्फत् मतदाता नामावली अनलाईन माध्यमबाट संकलन गरेर मतदानमा सहभागी गराउने तयारी आयोगले गरेको उनले जानकारी दिए। एनआरएनएद्वारा बिहीबार आयोजित कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।
विदेशमा बस्ने नेपालीहरुले यो पटक मतदान गर्न पाउँछन कि पाउँदैनन भन्ने प्रश्न हरेक पटक आफूले सामना गर्ने गरेको उनले बताए। विदेशमा बस्ने नेपालीहरुले मत कहिले दिन पाउँछन भनेर सोध्ने गरेको भन्दै उनले नोट चल्ने तर भोट दिन किन नपाउने भनि प्रश्न उठेको बताए।
‘हरेक बैठकमा गर्ने भनेर निर्णय गरिने तर त्यो कार्यान्वयन नहुने कुराको अर्थ खोज्न पर्छ ’ उनले भने ‘आजको अवस्थामा यसको अर्थ खोज्नुपर्ने उनले बताए ।
‘आउने निर्वाचनको मिति कति गतेका लागि तोकिने हो यकीन छैन। जति गते तोकिए पनि मतदानको दिन तपाईंहरुको नाम छ भने मत दिन पाउनुहुन्छ ’ उनले भने ‘आयोगमै आउनुस् तपाईहरुको मतदाता नामावलीमा नाम राख्न आयोग तयार छ। तर तपाईहरुले खोजेको यो जवाफ होइन होला ।’
उनले कानुनमा समावेश गर्ने विषय महत्वपूर्ण भएको भन्दै निर्वाचन आयोग नयाँ निर्वाचन कानुन तर्जुमा गर्ने क्रममा रहेकाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदान गर्ने व्यवस्था राखेर पठाउने बताए।
‘आयोगले विदेशमा रहेका नेपालीहरुलाई मतदान गर्ने अधिकारसहितको कानुन मस्यौदा गरेर पठाउँछ,’ उनले भने ‘माननीयहरु यो कानुन पारित गर्न तयार हुनुहुन्छ।’ कानुन बनेर आएपछि आयोगले काम गर्ने उनले बताए । उनले स्थानीय निर्वाचनमा पनि यस्तो मतदानको अधिकार मागेको र आफूले गाउँको निर्वाचनमा कसरी मतदानको अधिकार दिने भनि आफूले जवाफ दिएको बताए। उनले विदेशमा रहेका नेपालीहरुलाई समानुपातिक चुनावमा मत दिने अधिकारबाट सुरु गर्न सकिने बताए। उनले मतदाता नामावली संकलन निर्वाचनको मिति घोषणा भएकै दिनदेखि रोक्नुपर्ने भन्दै केही दिन रोक्न सरकारलाई अनुरोध गरेको उनले बताए।
‘आगामी आर्थिक वर्षदेखि अनलाईनमा मतदाता नामावली संकलन गर्ने अनि कानुन बनेपछि मतदानको अधिकार दिन सकिने गरि तयारी भइरहेको छ,’ उनले भने। जो जहाँ बसेको छ त्यहीवाट भोट हाल्ने हो भने अनलाईन भोटिङको व्यवस्था गर्न पनि उनले माग गरे। सूचना प्रविधिको प्रयोग गरेर जो जहाँ छ त्यहीबाट मतदान गर्ने तयारी गरेर गर्ने हो भने आयोग तयार नै रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।