लन्डन- बेलायतस्थित सात नेपाली युवाहरुले लन्डन-पेरिस च्यारिटी साइकलयात्रा पुरा गरेका छन्।
हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुलविच आर्सनल राइडर्स क्लबसँग आबद्ध सात युवा गत शुक्रबार लन्डनको लन्डन ब्रिजबाट साइकल यात्रा गर्दै आइतबार अपरान्ह पेरिसको आइफेल टावर पुगेका थिए।
हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङ, प्रोफेसनल राइडर सुलभ पन्त, सुशील प्रसाईं, सुनील कार्की, अभिनेता विक्रमदास जोशी र मनोज श्रेष्ठ च्यारिटी साइकलयात्रामा सहभागी भएका हुन्।
उनीहरुले साइकल यात्रा गरी लन्डनदेखि पेरिससम्मको जम्मा २ सय ४५ माइलको दूरी पार गरेका छन्।
साइकल यात्रीहरुले यात्रामा लागेको सबै खर्च व्यक्तिगत रुपमै व्यहोरेका थिए। 'यो यात्रामा हामीलाई नैतिक तथा भौतिक रुपमा सहयोग गर्नु हुने सबै मित्रहरु तथा संघसंस्थाहरु प्रति हामी आभारी छौं,' हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधानले भने। कल्याणकारी अभियानमा सघाउँदै आएका सबैलाई उनले धन्यवाद पनि दिए।
च्यारिटी साइकलयात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरिरहेको बालगृहलाई प्रदान गरिनेछ। सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।
उक्त बालगृहका बालिकाहरुका लागि सक्दो सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ।
सहयाेगका लागि याे लिंकमा क्लिक गर्नुहाेला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।