लन्डन- बेलायतमा बस्ने सात जना नेपाली युवाहरुले लन्डनदेखि पेरिससम्म च्यारिटी साइकल यात्रा सुरु गरेका छन्।
स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजे लन्डनको ऐतिहासिक लन्डन ब्रिजबाट उनीहरुले साइकल यात्रा शुरु गरेका हुन्। आइतबार (मे २२ तारिख) दिउँसो पेरिसको आइफेल टावर पुगेर यात्रा समापन हुनेछ।
हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुलविच आर्सनल राइडर्स क्लबसँग आबद्ध सात जना युवाबाट सञ्चालित हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा संचालित बाल गृहको सहयोगार्थ च्यारिटी साइकल यात्रामा सहभागी भएको हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधानले बताए।
साइकल यात्रामा प्रधान, नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङ, प्रोफेसनल राइडर सुलभ पन्त, सुशील प्रसाईं, सुनिल कार्की, विक्रम दास जोशी र मनोज श्रेष्ठ सहभागी छन्।
साइकल यात्रीहरुले लन्डनदेखि पेरिससम्मको जम्मा २ सय ४५ माइलको दूरी पार गर्ने छन् ।
यात्राको तयारीको लागि आफुहरुले नियमित अभ्यास गरेको अभिनेता तथा चलचित्र निर्माता विक्रम जोशीले बताए। 'ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले नेपालमा एउटा कल्याणकारी परियोजनाका लागि साइकल यात्रामा सहभागी हुन पाउंदा निकै खुसी लागेको बताए।
च्यारिटी साइकलयात्रामा लाग्ने सबै खर्च साइकल यात्रीहरुले आफै व्यहोर्ने र यात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कले धुलिखेलमा सञ्चालन गरिरहेको बालगृहलाई प्रदान गरिने बताइएको छ। सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिका बसेर पढीरहेका छन्।
‘जस्टगिभिङ’ मार्फत् ५,००० पौण्ड सहयोग संकलन गर्ने लक्ष्य राखिएकोमा अहिले सम्म ४,२०० पौण्ड भन्दा बढी रकम संकलन भै सकेको छ। उक्त बालगृहका बालिकाहरुका लागि सक्दो सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क युकेले अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।