लन्डन- बेलायतस्थित नेपाली अभियन्ताहरुको एक समूहले लन्डन-पेरिस च्यारिटी साइकलयात्रा गर्ने भएको छ।
हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुलविच आर्सनल राइडर्स क्लबसंग आबद्ध सात जना युवाले यही मे २० देखि २२ तारिखसम्म साइकल यात्रा गर्न लागेका छन्।
हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङ, प्रोफेसनल राइडर सुलभ पन्त, सुशील प्रसाईं , सुनिल कार्की, विक्रम दास जोशी र मनोज श्रेष्ठ च्यारिटी साइकलयात्रामा जांदैछन्।
साइकलयात्रामा लन्डनदेखि पेरिससम्मको जम्मा २ सय ४५ माइलको दूरी पार गरिनेछ । मे २० तारिख बिहान लन्डन ब्रिजबाट शुभारम्भ हुने यात्रा मे २२ तारिख दिउंसो पेरिसको आइफेल टावर पुगेर समापन हुनेछ।
साइकलयात्रीहरुले दैनिक ८ घण्टासम्म साइक्लिङ गर्ने योजना बनाएको र अहिले सबै यात्रीले आवश्यक ट्रेनिङ गरिरहेको हेल्प नेपाल नेटवर्क यूकेका प्रसिद्ध प्रधानले बताए।
च्यारिटी साइकलयात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरिरहेको बालगृहलाई प्रदान गरिनेछ। सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन्।
‘जस्टगिभिङ’ मार्फत् ५,००० पौण्ड सहयोग संकलन गर्ने लक्ष्य राखिएकोमा अहिले सम्म २,८०० पौण्ड भन्दा बढी रकम उठिसकेको जनाइएको छ। उक्त बालगृहका बालिकाहरुका लागि च्यारिटीको लिंकमा गएर सक्दो सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ।
च्यारिटीको लिंकका लागि यहाँ क्लिक गर्नुहोला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।